Swornakshar Logo

मुख्यमन्त्रीभन्दा राज्यमन्त्री भत्ता लिनेमा अगाडि

१८ साउन । काठमाडौं । विकासका क्षेत्रमा खासै फड्को मार्न नसकेका प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरु विलासितामा भने निकै अगाडि देखिएका छन् । आर्थिक वर्ष २०७५(०७६ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता वापत लाखौं रकम बुझेको पुष्टि भएको छ । मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले आर्थिक वर्ष २०७५(०७६ मा २२ लाख ९७ हजार २० रुपैयाँ लिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले बताएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले एकवर्षमा दैनिक भ्रमण भत्तावापत मात्र ३ लाख ८ हजार ७ सय ४० रुपैयाँ बुझेका छन् । तर, एक राज्यमन्त्रीले मुख्यमन्त्रीभन्दा पनि बढी दैनिक भत्ता लिएको तथ्यांकमा देखिएको छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार २ सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेकी हुन् ।

मुख्यमन्त्री भन्दा राज्यमन्त्री यादवले ११ हजार ४ सय ४३ रुपैयाँ बढी दैनिक भ्रमणभत्ता लिएको तथ्यांकमा उल्लेख छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको नजिक मानिने उषालाई राज्यमन्त्री बनाउँदा निकै आलोचना भएको थियो । उनले मन्त्रालय आउने जानेबाहेक केही काम नगरेको आरोप मन्त्रालयका कर्मचारीहरु लगाउने गर्छन् तर भत्ता बुझ्नेमा उनले रेकर्ड कायम गरेकी छन् ।

यस्तै सबैभन्दा कम दैनिक भ्रमण भत्ता उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले लिएका छन् । ५५ हजार मात्रै उनले दैनिक भ्रमण भत्ता लिएका छन् । अनावश्यक बजेट बनाउने आफ्नो संस्कार नरहेको मन्त्री रायले बताए ।

दैनिक भ्रमण भत्तावापत प्रतिदिन मुख्यमन्त्रीले तीन हजार, मन्त्री र राज्यमन्त्रीले दुई हजार पाउने मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी कानुनमा व्यवस्था छ ।

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले २ लाख ७४ हजार ९ सय ९०रुपैयाँ, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले १ लाख ८५ हजार ५ सय ४० रुपैयाँ, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले १ लाख ३९हजार ८ सय ३४ रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले १ लाख ४ हजार ३ सय ७० रुपैयाँ, समाजिक विकास मन्त्री नवलकिशोर साहले १ लाख १८हजार रुपैयाँ, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले २ लाख ८ हजार ४ सय ३रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र रायले १ लाख ७४ हजार ६सय रुपैयाँ, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले ६९ हजार ३ सय ७५ रुपैयाँ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले १ लाख ५७ हजार ६० रुपैयाँ र उद्योग, वन,पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले १ लाख ८२ हजार ७ सय २५ रुपैयाँ लिएका छन् ।