Swornakshar Logo

सर्वोच्चबाट धरौटीमा छुटे अभियुक्त

१७ साउन । काठमाडौं । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डमा जिल्ला र उच्च अदालतले थुनामा पठाउन आदेश दिएका महाविर प्रसाद गोल्यानलाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले अभियुक्त मध्येका महाविर प्रसाद गोल्यानलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनलाई १० लाख धरौटी लिएर साधारण तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । अभियोग लागेका अन्य अभियुक्तलाई भने थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ ।

गोल्यानलाई जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्वीकार गरेपछि अभियुक्तहरु उच्च अदालत विराटनगर पुगेका थिए । तर, उच्च अदालतले पनि धरौटीमा छोड्न अस्वीकार गरेपछि उनीहरु त्यसविरुद्ध १७ नम्बर निवेदन लिएर सर्वोच्चमा आएका हुन् ।

अभियुक्तमध्येका डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोललाई भने थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

बहालवाला प्रहरी अधिकारीसहित २९ जनालाई पक्राउ गरी २६ वैशाखमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो ।