Bagmati Samachar Logo

अहिले गिरफ्तारी बढेको हो, भ्रष्टाचार होइनः प्रधानमन्त्री ओली

१४ साउन । काठमाडौं । अहिले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग आज कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए।

अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले गीरफ्तारी बढेको हो भ्रष्टाचार बढेको होइन । भ्रष्टाचार गर्ने सबैलाई कारबाही हुन्छ ।

प्रधानमन्त्री ओलीले सरकारी जग्गा अतिक्रमण गर्नेलाई पनि सरकारले नछोड्ने बताए । विभिन्न ठाउँमा अतिक्रमण भएका र भू–माफियाले कब्जा गरेका सरकारी जग्गाहरु पनि सरकारले विधि पु¥याएर फिर्ता लिने प्रधानमन्त्री ओलीले बताए । ‘ललिता निवासको जग्गा पनि वर्तमान सरकारले छानविन थालेको हो । तर यही सरकारले जग्गा हड्पेको जस्तो गरी मान्छेहरु कराइरहेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘यो भन्दा अघिका सरकारहरु के हेरेर बसेका थिए । त्यसबेला सरकारमा बसेका मान्छे नै अहिले ठुला–ठुला कुरा गर्छन् ।’

प्रतिनिधि मण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रशासन कार्यलय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गर्दै एक ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले जनतालाई सहज रुपमा सेवा दिने आफ्नो नीति भएकोले इलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको बताए ।