Swornakshar Logo

सरोकारवालाहरुसँगको छलफल गरेरमात्र विधेयक ल्याउछौः बर्षमान पुन

११ साउन । काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सरोकारवालाहरुसँग छलफल गरेरमात्र सरकारले विधेयक ल्याउने बताए।

आज ललितपुरमा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको दशौं राष्ट्रि«य परिषद् बैठक तथा पन्ध्रौं वार्षिक दिवस समारोह बोल्दै उनले सबै ऐन र नीति निर्माणमा सरोकारवालहरुको सहभागिता गराइने प्रतिवद्धता जनाए । उनले जलस्रोत ऐन र राष्ट्रिय जलस्रोत नीति पनि तयार भइसकेकाले आवश्यक प्रक्रिया पूरा गरेर ल्याइने उल्लेख गर्दै उनले जनताको हित प्रतिकुल हुने गरि ऐन नआउनेमा विश्वस्त हुन आग्रह गरे ।

उनले मुलुकभरका काठका विद्युत् पोलहरुलाई हटाइने पनि बताए । हाल मुलुकभर झण्डै साढे ४ लाख काठका विद्युत् पोल रहेको भन्दै उनले काठका विद्युत् पोल हटाउन अभियान नै सञ्चालन गरिने र त्यसमा सहकार्य गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

संघीय संसदको प्रतिनिधिसभामा प्रमुख सचेतकसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले सामुदायिक विद्युत् ऐन छिटो ल्याउन आग्रह गर्दै त्यसलाई सदनबाट पास गर्न प्रतिपक्षी दलको तर्फबाट आफ्नो पुर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गरे । उनले साना विद्युत् उपभोक्तालाई मात्रै नभई अर्बौ रुपैयाँ बक्यौदा रहेका ग्राहकबाट बक्यौता असुल उपर गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए ।