Bagmati Samachar Logo

समाचार नेविसंघको प्रश्न: निर्मलाले कहिले पाउँछिन् न्याय?

कञ्चनपुरकी १३ वर्षीया  निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको दिन आज नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

घटना भएको एक वर्षसम्म पनि दोषी पहिचान गर्न नसकेको भन्दै नेविसंघले सरकारको विरोधमा प्रदर्शन गरेको हो । आज बिहान माइतीघर मण्डलामा नेविसंघले निर्मलाका लागि न्याय माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ‘निर्मलाले कहिले न्याय पाउँछिन् सरकार’ भन्ने प्ले कार्ड बोकेका थिए । उनीहरुले सरकारले नै दोषीलाई जोगाउन खोजेका कारण निर्मला बलात्कारपछि हत्या प्रकरण रहस्यमयी बनेको दाबी गरेका छन् ।

‘एक वर्षसम्म पनि अपराधीको पहिचान गर्न नसक्नुले सरकार घटनाप्रति संवेदनशील छैन भन्ने प्रस्ट हुन्छ,’ नेविसंघ नेता रघु कार्कीले भने, ‘सरकार दोषी पत्ता लगाउनुको साटो बलात्कारपछि हत्याजस्तो जघन्य अपराधलाई कमजोर बनाउन खोजिरहेको छ।’ उनले घटनामा संलग्न व्यक्ति जोगाउन सरकार नै सक्रिय रहेकाले सुनियोजित रुपमै प्रमाण नष्ट गरिएको दाबी गरे ।

प्रदर्शनमा पुनम लामा, केबिना कट्टेल,राजु सुनार, दिनेश भुर्तेलसहित संघका नेता कार्यकर्ता सहभागी थिए । उनिहरूले गृहमन्त्री रामबहादुर थापाकाे राजिनामा मागेका थिए ।

सरकारले निर्मला पन्त प्रकरणको छानबिनका लागि आधा दर्जन समिति गठन गरे पनि दोषी पहिचान गर्न सकेको छैन । प्रहरीले अहिले पनि घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीबाट केही कमजोरी देखिएको भन्दै यसअघि नै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटाइसकेको छ । आठ जना प्रहरी अझै निलम्बनमै छन् ।