Swornakshar Logo

गाउँ डुबानमा परेपछि भारतले बनाएकाे नहर स्थानीयले भत्काइदिए

नवलपरासी । गाउँ डुबानमा परेपछि भारतीयले बनाएको गण्डक नहरको डिल स्थानीयले भत्काइदिएका छन् । लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ नै डुब्ने अवस्थामा पुगेपछि स्थानीयहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन् ।

गाउँ डुवानमा परेपछि बुधबार बिहानै कोदालो, गैंची लिएर स्थानीयबासी गण्डक नहरको डिल भत्काउन पुगेका थिए । गत वर्ष पनि सुस्ताका बासिन्दाले सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएका थिए ।

त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ। उक्त नहर भारतीय पक्षले व्यवस्थित नगर्दा प्रत्येक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित छन्। स्थानीयको अनुसार बाँधकै कारण सधैँ गाउँ डुबानमा पर्दै आएको छ ।

त्रिवेणीमा बाँध बाँधेर भारतले १८ हजार क्यूसेक पानी भारतमा सिँचाइका लागि लैजाने गरेको छ। त्यहाँको पानीले भारत उत्तर प्रदेश र बिहारका ३ लाख हेक्टरमा सिँचाइ हुन्छ।