Bagmati Samachar Logo

वनलाई जीवन र रोजगारी संग जोड्नुपर्छः मन्त्री नेपाल

२४ असार । हेटौंडा । प्रदेश ३का उद्योग,पर्यटन ,वन तथा वातावरण मन्त्री अरुण नेपालले वनलाई मानिसको जीवनसंग जोड्नु पर्ने बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर १ बुङदलमा आज वृक्षा रोपण गदै मन्त्री नेपालले वनलाई मानिसको जीवनसंग र रोजगारीसंग जोड्नु पर्ने बताए ।
४ हजार ५ सय वटा बिभीन्न जातका रुखका बिरुवा रोपिएका थिए । । दरबारडाँडा सामुदायिक वन उपभोक्ता समुह बुङ्दलको आयोजना तथा डिभिजन वन कार्यालय राप्ती, मनहरीको सहयोगमा बृक्षा रोपण गरिएको हो ।
रोपिएका बिरुवालाई आफ्नै छोराछोरीलाई जसरी हुर्काउनका पर्नेमा उनले जोड दिएका थिए । उनले भने ‘बृक्षा रोपण गर्नु मात्र ठुलो कुरा होइन यसलाई सबै मिलेर जोगाउनुपर्छ । हामिले रोपेका बिरुवा सबै हुर्कने हो भने सबैतिर जंगलनै जंगल हुने छ ।’
अब हाम्रा जमिनमा तुरुन्तै फल दिन सक्ने फलफूलका बिरुवा रोप्नुपर्ने बताए । उनले भने ‘सामान्य दुई, चार वटा बिरुवा रोपेर केही हुँदैन धेरै बिरुवा रोपेर ब्यावसायीक प्रयोजनमा ल्याउन सक्नुपर्छ । परिणाम दिन सक्ने फलफूलका बिरुवा रोप्नुपर्छ ।’
उनले भने ‘अहिले प्रदेश सरकारले दुईस्थानमा वनको नर्सरी तयार गर्न लागिएको र हेटौंडा र काठमाण्डौं उपत्यका क्षेत्रमा नर्सरी राखिने जानकारी दिनुभयो छ । हरियो वन नेपालको धन भन्ने नारा पुरा हुन नसकेकाले अब साच्चै वनलाई नेपालको धन बनाउनुपर्ने छ ।’
सामुदायिक वनलाई अप्ठेरो पार्ने काम कुनैपनि हालतमा प्रदेश सरकारले नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै मन्त्री नेपालले भने ‘सामुदायिक वनले गरेको राम्रो कामको हामी सधै समर्थन गछौ । सामुदायिक वनकै कारण नेपालमा यती धेरे राम्रा जंगल बनेका हुन् । त्यसैले सामुदायिक वनलाई हामी अप्ठेरो पार्दैनौ ।’
स्थानीय उपभोक्ताहरुले श्रमदान गरेर एक हजार ५ सय सिसौ, एक हजार खयर, एक सय अमला, सिमल ३ सय , बकाइनो एक हजार, बाँस ५ सय र मसलाका एक सय बिरुवा रोपीएको हो । कार्यक्रममा मकवानपुरको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, मकवापनुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना लगायतकाले बिरुवा रोपेका थिए ।