Swornakshar Logo

विषादी परीक्षण रोक्न दूतावासले पठाएको पत्र गैरकुटनीतिकः बामदेव गौतम

२४ असार । काठमाडौं । नेकपाका सचिवाल सदस्य बामदेव गौतमले काठमाडौंस्थित भारतीय राजदुतावासले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने नेपाल सरकारलाई निर्णय रोक्नका लागि पठाएको पत्र गैरकुटनीतिक भएको बताएका छन् ।
नेकपाका सचिवालय सदस्यसमेत रहेका वामदेव गौतम संयोजक रहेको अखिल नेपाल किसान महासंघको मंगलबार बसेको बैठकले भारतीय राजदुतावासद्वारा सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, नेपाल अल्पविकसित राष्ट्र भएकोले नेपाल सरकारले अहिले पनि विश्व व्यापार संगठनका कैयौँ प्रावधानहरु लागु गर्ने विषयमा छुट पाउने व्यहोरा भारतीय राजदूतावासलाई जानकारी हुनुपर्ने हो । भारतीय दूतावासले नेपाल सरकारलाई दिएको पत्रले नेपाली किसानको उत्पादनमाथि हस्तक्षेप गरेकाले अखिल नेपाल किसान महासंघ नेपाली किसानहरु तथा आमउपभोक्तको हित रक्षा गर्ने अधिकार राख्दछ ।
आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा भएको महासंघको ठहर छ । तर, भारतीय राजदूतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटीपूर्ण भएको भन्दै किसान महासंघले आपत्ति जनाएको छ ।
यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ । नेपाली कांग्रेसलगायतका शक्तिहरु सरकारविरुद्ध सडकमा उत्रनु भारतीय राजदूतावासको पत्राचारकोविरुद्धमा हो वा नेपाल सरकारले गरेको निर्णयका विरुद्ध हो, त्यो समेत प्रष्ट छैन ।ू

महासंघले आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरुको विषादी पुनः परीक्षण सुरू गर्न र नेपाली आमउपभोक्तालाई विषादीयुक्त तरकारी तथा फलफूलहरु सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गरी आमउपभोक्ताको हक, हित तथा अधिकार संरक्षण गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

नेपाल सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णय गरेको थियो । तर, भारतीय दूतावासले उक्त निर्णय रोक्न पत्र पठाए लगत्तै नेपाल सरकारले विषादी परीक्षण निर्णय असार १९ गते फिर्ता गरेको थियो ।

भारतीय कृषि उत्पादनहरुमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पुर्‍याउन रसायनिक विषादीहरु प्रयोग गरिने र भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताहरुले कुनै पनि फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्रहरु पेश नगर्ने भएकोले नेपाल सरकारले द्रुत विषादी मापनयन्त्रबाट विषादी परीक्षण गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि अहिले विषादी परीक्षण नभएर नै भारतबाट तरकारी तथा फलफूल आयात भइरहेको छ । तर, नेपालबाट भारततर्फ निर्यात हुने तरकारी तथा फलफूलहरुमा विषादी परीक्षण गर्नुपर्ने प्रावधानहरु भने यथावत छ ।