Swornakshar Logo

प्रदेश ३ मा बजेट बनाउने चटारो

जेठ २७ । मकवानपुर । प्रदेश नम्बर ३ को आर्थिक मामिला तथा योजान मन्त्रालयले आगामी आर्थिक बर्षका लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ ।

बजेटको तयारीका लागि मन्त्रालयका कर्मचारीहरु बिहानको झिसमिसेदेखि साँझ अबेरसम्म काममा खटिएका छन् । चालु आर्थिक बर्षमा पूँजीगत रकम खासै खर्च गर्न नसकेको प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि चालु बर्ष भन्दाबढी रकमको बजेट ल्याउने तयारी गरेको छ ।

बजेटका लागि सातवटै मन्त्रालयमा पठाइएको बजेट सिलिङ अनुसार आगामी बर्षभरी गरिने कामका योजना छनौट गरी आईसकेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो ।

चालुबर्षमा समेट्न नसकिएका योजनाहरु आगामी बजेटमा समेट्ने तयारी भएको उहाँले बताउनुभयो । बजेट कती रकमको ल्याउन लागेको भन्ने उहाँले खुलाउन चाहनुभएन । सबैभन्दा बढी रकम भौतिक पूर्वाधारका क्षेत्रमा खर्च गरिने उहाँको भनाई छ । प्रदेशका गौरवका योजनाहरु छनौट गरेर बजेट तयार पार्ने काम भइरहेको पनि उहाँले बताउनुभयो ।

असार १ गते ल्याइने बजेटमा चालु आर्थिक बर्षमाभन्दा आगामी आर्थिक बर्षमा चालु खर्च समेत बढ्ने अनुमान गरिएको छ । पहिले कर्मचारी अभावका कारण चालु खर्च पनि थोरै भएको प्रदेश ३ मा आगामी आर्थिक बर्षमा भने चालु खर्च पनि बढ्ने देखिन्छ ।