Swornakshar Logo

३ नं.प्रदेश सरकारले पनि लगानी सम्मेलन गर्दै

२५ चैत । चितवन । ३ नं.प्रदेश सरकारले देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने भएको छ । सङ्घीय सरकारले लगानी सम्मेलन सम्पन्न गरेको एक महिनाभित्रै ३ नं.प्रदेश सरकारले पनि लगानी सम्मेलन गर्न लागेको हो ।
आगामी वैशाख ६ र ७ गते चितवनमा प्रदेशस्तरीय सम्मेलन गरिने मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहालले बताए ।
लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने उदेश्यले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्न लागीएको हो । १ सय ५० सम्भावित लगानीकर्ता तथा विज्ञ लगायत दुई सयको सहभागितामा सम्मेलन गर्न लागिएको हो ।

देशका लगानीकर्तालाई प्रदेशमा लगानीका लागि प्रेरित गर्ने आधार तय भएको प्रदेशसभा सदस्य श्यामकुमार बस्नेतले बताए । सम्मेलनपछि लगानीकर्ता प्रदेशको पर्यटन, कृषि, उद्योग लगायतको क्षेत्रमा लगानीका लागि आकर्षित हुने योजना आयोगको अनुमान छ ।

३ नं.प्रदेशले फलफूल उत्पादन, जडीबुटी तथा पशुपालनका दृष्टिले पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसैले प्रदेशको कृषिक्षेत्र पनि लगानीका लागि उपयुक्त क्षेत्र रहेको कृषि क्षेत्रका अगुवा बताउँछन् । तथ्याङ्क अनुसार देशका ११ आंैद्योगिक क्षेत्रमध्ये ३नं. प्रदेशमा चारवटा औद्योगिक क्षेत्र छन् । बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र र हेटौंडा औद्योगिक क्षेत्रमा देशमा भएका बहुराष्ट्रिय उद्योगहरु मध्ये ८० प्रतिशत भन्दा बढी उद्योगहरु ३ नं.प्रदेशमा छन् ।
औद्योगिक उत्पादनको अभिबृद्धि प्रदेशको समृद्धि भन्ने मुलनारा सहित प्रदेश सरकार र नीति तथा योजना आयोग लागि परेको अवस्थामा लगानीकर्ताहरुले सरकारको दरिलो साथ पाउने बताइएको छ । सम्मेलन मार्फत सरकारका वा नीजि क्षेत्रका कमीकमजोरीहरु पत्ता लगाउने र तिनलाई सुधार गर्ने सरकारको रणनीति रहेको छ ।