Swornakshar Logo

आजबाट लगानी सम्मेलन सुरु, ४० देशका ६ सय प्रतिनिधि सहभागी

१५ चैत । काठमाडौ । आजबाट बहुप्रतिक्षित लगानी सम्मेलन सुरु हुँदैछ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागेको हो। काठमाडौंमा दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने .छन् ।

आज पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्रहरु संचालन हुनेछन् ।

त्यसैगरी सम्मेलनको अन्तिम दिन शनिबार दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुने जनाइएको छ । सम्मेलनमा विभिन्न ४० देशका उच्च प्रतिनिधिमण्डल सहित ६ सयभन्दा बढी विदेशी लगानीकर्ताको उपस्थिति रहने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैरआवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने छ ।

दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवम शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ । त्यसैगरि सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको अर्थमन्त्रालयले जानकारी दियो ।

सम्मेलनलाई लक्षित गरी नेपाल सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संसोधन समेत गरिसकेको छ ।

सम्मेलनका लागि म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तरगतको वहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको हो र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस सहभागी हुनेछन् ।

मन्त्रालयका अनुसार एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्बन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाईना, चाईना रेलवे, डाबर, यूनिलिभर लगायतका विश्व प्रसिद्ध कम्पनीहरुको उच्चपदस्थ प्रनिनिधिहरुको उपस्थिति रहनेछ ।

सरकारले यो लगानी सम्मेलन मार्फत विश्वका लगानकर्ताहरुलाई नेपालमा लगानीका अवसर, लगानी प्रवद्र्धनका लागि सरकारले लिएका नीतिगत तथा कानुनी प्रयासबारे जानकारी गराउने अवसर मिल्नुका साथै नेपाल लगानीको लागि उत्कृष्ठ गन्तव्य रहेको सन्देश दिने अवसरको रुपमा लिएको छ ।

यस सम्मेलनले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पु¥याउने आशा लिईएको अर्थमन्त्रालयले जनाएको छ ।