Swornakshar Logo

बर्डफ्लु प्रभावित क्षेत्रमा धमाधम कुखुरा मारिँदै

२ चैत । हेटौंडा । मकवानपुर जिल्लामा बर्डफ्लु भेटिएको क्षेत्रमा कुखुरा नष्ट गर्ने काम सुरु गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका–७ स्थित कमाने क्षेत्रमा बर्डफ्लु भेटिएका कुखुराहरु शनिबार दिउँसोबाट नष्ट गर्न सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा स्थानीय किसानहरुसँग क्षतिपूर्ति निर्धारणको विषयमा सहमति जुटाएर कुखुरा नष्ट सुरु गरिएको हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरबाट खटिएको २१ जना प्राविधिक टोलीले तीन भागमा विभाजन गरेर त्यसक्षेत्रमा कुखरा नष्ट गरिरहेका छन् । विज्ञहरुले बासुदेव कटुवालको विनिता पोल्ट्री फर्ममा रहेको कुखुरा नष्ट गर्ने काम सुरु गरेका छन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुुख डा. चेतनारायण खरेलका अनुसार बर्डफ्लुबाट संक्रमण भएका कुखुराहरुको धमाधम नष्ट गर्ने काम भइरहेको छ ।
त्यसक्षेत्रमा करिब ४१ हजार कुखुरा नष्ट हुने अनुमान गरिएको छ । फागुनको पहिलो साता त्यसक्षेत्रमा धमाधम कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको थियो । बर्डफ्लु भएको पुष्टि हुने वित्तिकै स्थानीय प्रशासनले चारकिल्ला तोकेर शिलबन्दी समेत गरेको थियो । बर्डफ्लु भेटिएको हेटौंडा–७, कमाने पूर्वमा हेटौंडा उपमहानगरपालिका–६ नम्बर र ७ नम्बर वडाको सिमाना, पश्चिम वनदेवी मन्दिर जानेबाट, उत्तरमा वनदेवी दुग्ध उत्पादक संस्था तथा दक्षिणमा अग्राठे मन्दिरलाई आधार मानेर चारकिल्ला तोकिएको थियो ।