Swornakshar Logo

पार्टी एकताकोलागि कुनै कसर राख्दैनःप्रचण्ड

१० फागुन । गलकोट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताएका छन् । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन् ।
आन्तारिक रुपमा पार्टी एकता टुंगिसकेको बताउँदै प्रचण्डले भने, ‘पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।’ देशमा समृद्धि नआएसम्म शहीदको सपना पूरा नहुने भन्दै अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको बताए ।

उनले अबको समय भनेको समृद्धिका समय भएको बताए । देशमा समृद्धि आएमा मात्र शहीदको सपना पूरा हुन्छ भन्दै अध्यक्ष दाहालले शहीदलाई परिचयपत्रको व्यवस्था गर्ने बताए । उनले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य भएको बताए ।

दाहालले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो । विद्यालयले शिक्षा प्रेमी, उद्यमी, विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिलगायत सङ्घ संस्था तथा व्यक्तिबाट स्वच्छिक रकम सङ्कलन गर्दा रु ७० लाख बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले जानकारी दिए ।

विद्यालयले रु डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।

स्वर्णमहोत्सव अवधिभर आधारभूत विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता, खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडास्तरीय महिला भलिबल प्रतियोगिता, ताराखोला गाउँपालिकास्तरीय प्राथमिक तहस्तरीय पदम चन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, खुला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता, आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता, अभिभावक पुरुष र महिला रस्साकस्सी प्रतियोगिता, शिक्षक अभिभावक मैत्रीपूर्ण भलिबललगायतका प्रतियोगिता आयोजना गर्ने बताएको छ ।