Swornakshar Logo

समृद्धिका लागि प्रतिस्पर्धा गरौँः उपराष्ट्रपति

२ फागुन । महेन्द्रनगर । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्ने बेला आएको बताए ।
कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा आज यहाँ आयोजित दुईदिने वेदकोट धार्मिक तथा पर्यटन मेलाको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधानभित्र रहेर प्रदेशहरुले विकास र समृद्धिका लागि समाजवादी प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।“एक अर्कामा सहयोग सहकार्य र एकता कायम गर्दै जानुपर्छ” उनले भने “स्थानीय तहहरुले पनि सरल, सहज सेवा प्रदान गर्दै सिंहदबार साँच्चिकै घर दैलोमा आएको अनुभूति दिन सक्नुपर्दछ ।”

उनले सुदूरपश्चिम पर्यटन, जनस्रोत, जडीबुटीलगायत धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तहहरुले पर्यटन प्रवद्र्धन गरेर पर्यटक भित्र्याउन विभिन्न रचनात्मक प्रयासहरु जारी राखेकामा खुसी व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले वेदकोटमा निर्मित भ्यू टावर र मन्दिरसमेत उद्घाटन गरे।

“संस्कृतिले धनी भएको सुदूरपश्चिमको मौलिक संस्कार संस्कृतिहो ।” उनले भने “अपी हिमाल, खप्तड क्षेत्र, मानसरोवरको यात्रादेखि गोदावरी धाम, घोडाघोडी ताल, शुक्लाफाँटा, वेदकोट ताल, लिङ्गेश्वरधामलगायतले सुदूरपश्चिमलाई सुन्दर बनाएको छ ।”