Swornakshar Logo

ढोरपाटन भलिबलको उपाधि एपिएफलाई

२० माघ । काठमाडौं । चौधौं ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि विभागीय क्लब एपीएफले जितेको छ । एक खेल अगाबै च्याम्पीयन बनेको एपिएफले अन्तिम खेलमा आज नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन प्रशिक्षण केन्द्रमा आज भएको अन्तिम खेलमा पुलिसमाथि पहिलो सेट २५–१८ र दोस्रो सेट २५–२० ले जितेको एपिएफले निर्णायक तेस्रो सेट १९–२५ ले गुमाएको थियो ।

चौथो सेटमा २५–१५ ले पुनरागमन गर्दै एपिएफ विजय भएको हो । आइतबार भएको अर्को खेलमा पश्चिमान्चललाई पराजित गर्दै त्रिभुवन आर्मी तेस्रो भएको छ । पश्चिमाञ्चलबिरुद्ध आर्मी २६–२४, २०–२५, २५–१२ र २५–१४ ले बिजय भएको हो ।
एपिएफ ४२ अंक सहित च्याम्पीयन बन्दा पुलिस ३४ अंकसहित दोस्रो तथा आर्मी ३२ अंकसहित तेस्रो भएको छ । उपाधी बिजेता एपिएफले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो भएको पुलिसले २ लाख पुरस्कारमा चित्त बुझाएको छ ।

एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा आर्मीकी शान्ता थारु उदियमान खेलाडी घोषित भइन् । पश्चिमाञ्चलकी अरुणा शाही वर्ष खेलाडी बन्दा पुलिसकी कोपिला राना प्लेय अफ दि सिरिज घोषित भइन् । उत्कृष्ट सबैले सुजुकी स्कुटी पुरस्कार पाए । बिधागततर्फ पुलिसकी उषा भन्डारी उत्कृष्ट स्पाइकर पुलिसकै कमला पुन उत्कृष्ट सेटर आर्मीकी सोफिया पुन उत्कृष्ट ब्लकर आर्मीकै सुनिता खड्का उत्कृष्ट क्विकर,पुलिसकी शान्ति तामाङ उत्कृष्ट डिफेन्स ,एपिएफकी नेविका चौधरी उत्कृष्ट सर्भर तथा एपिएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले जनही ६–६ हजार पुरस्कार पाए।