Swornakshar Logo

योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्था गरिनेः खतिवडा

१८ मंसिर । काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको बताएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा उनले वित्तिय प्रणालीलाई व्यवस्थित बनाउन र मुलुकमा अनावश्यक वित्तिय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरुका लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन सो कोषको व्यवस्था गर्न लागिएको बताए ।

अर्थमन्त्री खतिवडाले सो कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको बताए । अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरु भएको छ । अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरुले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दावी गरे ।