Swornakshar Logo

हाकिमको संगतले नेताहरु बिग्रिएः प्रचण्ड

२८ कार्तिक ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको संगतले नेताहरु पनि बिग्रन थालेको बताएका छन् । आन्दोलन गरेर मुलुक परिवर्तन गर्ने नेताहरुलाई राजाको पालामा तालिमप्राप्त कर्मचारीले बिगारिसकेको आरोप लगाएका हुन् ।

बुधबार म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले कर्मचारीको माथिल्लो तहमा रहेकाहरुले नेताहरुलाई नै बिगारिसकेको दावी गरे । ‘जतिसिुकै सिस्टम बदलौं हामी सिष्टम उनै छन् राजाका पालामा तालिमप्राप्त, अझ ठूल्ठूला त तिनैमात्र छन्’ उनले भने ‘राजनीतिक नेतृत्वले संघर्ष गर्छन्, आन्दोलन गर्छन् राष्ट्र र जनताको हितमा भनेर बलिदान गर्छन्, परिवर्तन ल्याउँछन् । दुई चार वर्ष ठूल्ठूला हाकिमसँग बस्दाबस्दै नेताजति हाकिमजस्ता हुन्छन् ।’
प्रचण्डले नेताले हाकिमहरुलाई पनि परिवर्तन गर्नुपर्नेमा आफै बिग्रिएको बताए । ‘हाकिमलाई नेता बनाउनुपर्ने ठाउँमा परिवर्तनको बाहक बनाउनुपर्ने ठाउँमा अनि यो त हुन्न हजुर त्यो फाइल मिल्दैन भन्दाभन्दै नेता पनि उस्तै, जब नेता पनि उस्तै हुन्छन्, त्यो परिवर्तन टिक्दैन ।’

नेपालमा नागरिकले राम्रो सेवा सुविधा पाउन् भनेर संघ, प्रदेश र स्थानीय तहको अवधारणा ल्याए पनि आफूहरुको चाहना अनुसार काम नभएको प्रचण्डले बताए । नेपालमा जति पटक राजनीतिक क्रान्ति भए पनि उपल्लता तहका कर्मचारी परिवर्तन नगर्दा समस्या भएको उनको जिकिर छ ।

‘ठूला परिवर्तन भए भने संसारभर नै नयाँ आउने सरकारले व्यूरोक्रेसीको सबभन्दा माथिल्लो लेयरलाई विदा गरिन्छ । सेक्यूरिटीमा पनि माथिल्लो लेयरलाई बिदा गर्दिन्छन् । आफूप्रति लोयल हुने र यो परिवर्तनलाई बुझ्न सक्ने मान्छेहरुलाई भर्ती गर्छ । अनि मात्रै परिवर्तन संस्थागत हुन्छ ।’

‘तोकेको ठाउँमा नजाने कर्मचारी निकाल्नुको विकल्प छैन’

कर्मचारीहरुमाथि खनिएका अध्यक्ष प्रचण्डले तोकेको ठाउँमा नजानेहरुलाई निकाल्नुको अर्को विकल्प नभएको बताएका छन् ।
कर्मचारी समायोजनमा सर्वत्र समस्या देखिएको भन्दै प्रचण्डले प्रदेश र स्थानीय तहमा जान नचाहने कर्मचारीका लागि सरकारले कठोर निर्णय गर्नुपर्ने बताए ।

सिंहदरबारको अधिकार गाउँमा पठाउन खोज्दा कर्मचारीकै कारण समस्या देखिएको भन्दै प्रचण्डले सरकारको निर्णय नमाने पुराना हटाएर नयाँ भर्ना गर्ने चेतावनी दिए । त्यसका लागि नयाँ ऐन बनाउन सरकार तयार रहेको उनको भनाइ छ ।