Bagmati Samachar Logo

जापानमा नेपाली कामदार पठाउन सरकार पहल गर्दै

२८ कार्तिक ।

काठमाडौं । जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन सरकारले पहल गर्ने भएको छ । जापानमा दक्ष र अदक्ष नेपाली कामदारको लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

परराष्ट्र मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले यसै साता हुने आफ्नो जापान भ्रमणका क्रममा नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारी दिलाउनेबारे छलफल हुने बताए ।

जापानी विदेशमन्त्रीको निमन्त्रणामा मंसिर २ गतेदेखि एक साता लामो भ्रमणका क्रममा ज्ञवाली जापान जाँदैछन् । सरकारी तहबाटै समझदारी गरेर जापानको श्रम बजारमा नेपाली कामदार पठाउनेबारे छलफल भइरहेको उनले बताए ।

मन्त्री ज्ञवालीले कुवेत लगायत खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको रोक भने तत्काल खुलाउने अवस्था नरहेको बताए । उनले ती मुलुकबाट नयाँ व्यवस्था सहित घरेलु कामदार सम्बन्धी सम्झौता गर्न प्रस्ताव आएकाले श्रम मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।

घरेलु कामदार पठाउन रोकिदा अवैध बाटोबाट महिलाहरु श्रम गन्तव्यमा जाने क्रममा जोखिम बढेको उनले स्वीकार गरे । नेपाली महिला थप जोखिममा नपर्ने गरिमात्र घरेलु कामदार पठाउन स्वीकृति दिनुपर्ने उनले बताए ।