Swornakshar Logo

गाई र हलोले राप्रपाको एकता भाँडियो

२५ कार्तिक ।

काठमाडौं । तीन खेमामा विभाजित पूर्वपञ्चहरुको एकता प्रयास अन्तिम समयमा आएर भाँडिएको छ । हैदसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल हुन नसकेको राप्रपा अध्यक्ष कमल थापाले पार्टी नेताहरुलाई जानकारी गराएका छन् ।

पछिल्लो केही दिनदेखि राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता गर्ने भन्दै वार्ता भइरहेका थिए । वार्तामा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा र नेता दीपक बोहोरा र एराप्रपा राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनी आफैं संलग्न हुदै आएका थिए।
एक नेताका अनुसार तीन पार्टीको एकता घोषणा गर्न भोलि राष्ट्रिय सभागृह ‘बुक’ समेत भइसकेको थियो ।

राप्रपा अध्यक्ष थापा केन्द्रीय समितिको बैठक रोकेर पशुपतिशम्शेरलाई भेट्न महाराजगञ्जको ला शेर्पा होटलमा पुगेका थिए । वार्तामा संवैधानिक राजसंस्था, चुनाव चिह्न लगायतका विषयमा सहमति हुन सकेन ।

राणालाई भेटेर फर्किएपछि केन्द्रीय समिति बैठकमा थापाले आफूले हदैसम्म प्रयास गर्दा पनि पार्टी एकता सफल नभएको बताए । राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी सिद्धान्तमा प्रष्ट हुन नसकेको, चुनाव चिह्नमा गाई छाड्न दबाव दिएको बताए।

यसअघि थापा र राणाबीच दुबै अध्यक्ष हुने लगायत अधिकांश सैद्धान्तिक विषयमा सहमति भएको नेताहरुले दाबी गरेका थिए ।