Swornakshar Logo

अमेरिकामा मध्यावधिक निर्वाचनमा मतदान शुरु

२० कार्तिक । न्यूयोर्क । अमेरिकामा मध्यावधिक निर्वाचनमा मतदान सुरु भएको छ ।

अमेरिकाका पूर्वी तटीय क्षेत्रका स्थानबाट सुरु भएको निर्वाचनमा सत्तारुढ रिपब्लिकन र डेमोक्रेटबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । मुलुकभर हुने निर्वाचन मेने, न्यु ह्यासायर, न्यू जर्सी, न्यूयोर्क र भर्जिनियाबाट सुरु गरिएको बीबीसीले लेखेको छ । ४ सय ३५ सिटको तल्लो सदन र माथिल्लो सदनको १ सय मध्ये ३५ सिटका लागि मंगलबार भइरहेको निर्वाचनले रिपब्लिकन पार्टीबाट राष्ट्रपति भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको मार्गचित्र निर्धारण गर्ने छ ।

सन् २०१४ को मध्यावधिक निर्वाचनमा ३४ प्रतिशत मात्र मत खसेकाले यसपटक अधिकांशलाई मतदानका लागि उत्साहित बनाउनु प्रमुख चुनौती रहेको विश्लेषकहरु बताउँछन् । अमेरिकाका ५० राज्यमध्ये ३६ राज्यमा गर्भनर समेत चुन्ने गरी स्थानिय तहको निर्वाचन समेत हुँदैछ । ट्रम्पको कार्यकालसँगै सत्तारुढ रिपब्लिकन र प्रतिपक्षी डेमोक्रेटको स्वास्थ्य सेवा, कर ब्यवस्था र आप्रवासी सम्बन्धी कानूनमा निर्वाचनको नतिजा अर्थपूर्ण रहनेछ । समान्यतया कम मतदान हुने मध्यावधिक निर्वाचनमा मतदान उच्च हुन सक्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्रपति ट्रम्पको आक्रमक ब्यवहारका कारण डेमोक्रेटलाई फाईदा पुग्ने विभिन्न सर्वेक्षण मतहरुले देखाएको बीबीसीले लेखेको छ ।