नेपाल र फिलिपिन्सका उपराष्ट्रपतिको शिष्टाचार भेट
१४ मंसिर । काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी उपराष्ट्रपति रोब्रेडोले शुक्रबार दिउँसो बहादुर भवन पुगेर समकक्षीसँग शिष्टाचार भेट गरेकी हुन् ।
समकक्षी बीचको भेटमा दुई देशको सम्बन्ध र सहकार्यलगायतको बारेमा छलफल भएको छ ।
भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले फिलिपिन्स नेपालको घनिष्ठ मित्र राष्ट्र भएको भन्दै सांस्कृतिकलगायतका धेरै समानताहरु रहेको बताए । ‘नेपाल र फिलिपिन्सबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दैछ । पूर्वी दर्शनको मान्यता अनुसार ६० वर्ष अत्यन्त शुभ वर्ष हो’, उपराष्ट्रपति पुनले भने, ‘कुटनीतिक सम्बन्धको ६० वर्षले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने छ ।’
उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्न पाउँदा आफूले गौरव महसुस गरेको बताएकी थिइन् ।
उनले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउँदै आउँदा दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्: