Swornakshar Logo

सेनाको भर्नामा १९ अधिकृत सहित १७३ जना सैनिक दोषी ठहर

१३ मंसिर । काठमाडौं । सैनिक अदालतले नेपाली सेनाको भर्नाको क्रममा अनियमितता गरेको ठहर गरेको छ । यसकालागि १९ अधिकृतसहित १७३ जना सैनिक जवानलाई कारबाही गर्ने फैसला सुनाएको छ । अदालतले दोषीबाट बिगो रकम ३ करोड २२ लाख ७५ हजार रुपैयाँ असुल उपर गर्न समेत भनेको छ ।

वि.सं.२०७३ र ०७५ सालमा नेपाली सेनामा विभिन्न पदको भर्नामा अनियमितता गरेको उजुरी परेको थियो । त्यसपछि गत जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ इन्क्वायरीले छानविन अघि बढाएको थियो । छानविनका क्रममा २३ अधिकृत सहित १ सय ८७ जना सैनिक जवान उक्त भर्ना प्रक्रियामा दोषी भेटिएपछि उनीहरुलाई जनरल समरी सैनिक अदालत (कोर्ट मार्शल)को लागि सिफारिस गरिएको थियो ।
कोर्ट अफ इन्क्वायरीको आधारमा गत कात्तिक ६ गते प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनलर समरी सैनिक अदलात गठन गरिएको थियो । त्यसपछि अदालती प्रक्रिया सुरु भएको थियो । उक्त सैनिक अदालतले बिहीबार (मंसिर १३ गते) बाट लागू हुने गरी दोषीहरुबाट कूल विगो रकम ३ करोड २२ लाख ७५ हजार रुपैयाँ असुल उपर गर्नेगरी बिभिन्न कारवाही सुनाएको हो ।

सैनिक अदालतले २ अन्य दर्जालाई ६ वर्ष कैद, विगो रकम राजस्व दाखिला र भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बरखास्त गरेको छ । यस्तै, २ अघिकृतसहित ६ जनालाई ३५ दिन देखि ३ वर्षसम्म कैद, विगो रकम राजस्व दाखिला र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त गरेको छ । एक सैनिक अधिकृतसहित २ जनालाई विगो रकम राजस्व दाखिला र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बरखास्त गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक अदालतले एक अन्य दर्जालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त गरेको छ भने अर्को एक अन्यदर्जालाई विगो रकम राजस्व दाखिलासहित ४ वर्ष बढुवा रोक्का गर्ने फैसल सुनाएको छ ।

यस्तै, ५ जना अन्य दर्जाका सैनिकलाई २ देखि ५ वर्ष बढुवा रोक्का गरिएको छ । भर्ना हुँदा मापदण्ड विपरित भर्ना भएका १ सय १ अन्य दर्जालाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बरखास्त गर्ने निर्णय अदालतले गरेको छ ।

सैनिक अदालतले ३७ अन्य दर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकोले ३ वर्ष बढुवा रोक्का गरेको छ । सैनिक ऐन अनुसार आफ्नो पदिय दायित्व पूरा नगर्ने १६ अघिकृतसहित १७ जनालाई सचेत गराइएको छ । चार अधिकृत सहित आरोपित १४ जनालार्य सफाई दिइएको छ । सेवारत एक अन्य दर्जालाई भर्ना भएको दर्जाबाट घटुवा गरी पहिलाकै दर्जा कायम गरिएको छ ।