Swornakshar Logo

नेकपाका तर्फबाट धारणा व्यक्त

१० मङ्सिर । काठमाडौँ । ग्रिसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औँ बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो धारणा राखेका छन्।

कम्युनिस्ट पार्टी अफ ग्रिसले आयोजना गरेको बैठकमा धारणा राख्दै रिजालले नेपालका दुई ठूला कम्युनिस्ट नेकपा (एमाले)र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि नेकपा विश्वकै बलिया कम्युनिस्ट पार्टीहरुमध्येको एक बनेको बताए । उनले एमालेले अवलम्बन गर्दै आएको मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गर्दै आएको माओवाद तथा २१औँ शताब्दीको जनवादलाई थाती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको बैठकमा जानकारी गराए ।

उनले आफूहरु पनि माक्र्सवाद र लेनिनवादको सिद्धान्तको प्रयोग, विकास र अनुभवबाट सिक्दै मुलुकमा समाजवाद ल्याउने प्रयासमा लागि रहेको बताउए । युद्धका नयाँ नयाँ आयामहरु देखा परिरहेका चर्चा गर्दै उनले हिजो जस्तो सिधै अर्काको मुलुकमाथि उपनिवेश कायम गर्ने अवस्था नभए पनि कमजोर, साना, गरीब र कम विकसित राष्ट्रमाथि आधिपत्य कायम गर्ने अभ्यास जारी रहेको उल्लेख गरे ।
आणविक हतियारको होड, व्यापारका नाममा बजारमार्फत अर्थतन्त्रमाथि कब्जा र प्राकृतिक सम्पदाहरुको दोहन आज विश्वव्यापी समस्याका रुपमा हाम्रा अगाडि उभिएको उनले बताए । यही मङ्सिर ६ गतेदेखि शुरु भएको बैठकमा ७३ देशका ९१ पार्टी प्रतिनिधिको सहभागिता रहेको छ ।