Swornakshar Logo

विदेशी चरा चितवनमा

चितवन । ८ मङ्सिर । रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् ।

सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताए।

सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको उनको भनाइ थियो ।

लामो दूरीबाट आउने हुँदा ठाउँठाउँमा बस्दै जाडो छल्न आउने ती चाराले यो समयमा प्रजनन कार्य गर्दैनन् । असोज महीनादेखी नै आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गरेको उहाँले जानकारी गराए ।

नेपालकै हिमाली क्षेत्रबाट पनि चरा मधेश झरेका छन् । बिडारीका अनुसार १५० भन्दा बढी प्रजातिका चरा चितवन आइपुगेका छन् । पानीमा आश्रित ती चरा चितवन राष्ट्रिय निकुञ्जभित्रका ताल र राप्ती नदी वरपर बस्ने गर्दछन् । मङ्सिर १५ गतेपछि पानीमा आश्रित चरा गणना गर्ने गरिन्छ । गत वर्ष नेपाल बाहिरबाट ५२ प्रजातिका चरा यहाँ आएको उनले बताए ।

उक्त सोसाइटीका अध्यक्ष सरस्वती सेढाईंले प्रत्येक वर्ष बाहिरबाट आउने चराका प्रजाति बढदै आएको छ बताए । गणनाका बेला विभिन्न प्रजातिका निकै देख्न सकिने चरा साइबेरियाभन्दा परबाट समेत आउने भएपछि यस समयमा चरा हेर्न रुचाउने पर्यटक बढी आउने बताए ।

उक्त सोसाइटीका अनुसार नेपालमा ८८७ प्रजातिका चरा रहेकामा ६३५ प्रजाति चितवनमा पाइन्छन् । यहाँ रहेको चितवन राष्ट्रिय निकुञ्जमा गर्मीयाममा पनि चरा धेरै देख्न सकिने भएपछि पर्यटकको आकर्षण चरा पनि बन्ने गरेको छ ।