Bagmati Samachar Logo

जापानमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भयोःमन्त्री ज्ञवाली

७ मंसिर । काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापान सरकारले नेपाललाई विगतमा दिँदै आएका सहयोगलाई निरन्तरता दिने बताएका छन् । जापानको पाँचदिने भ्रमण तथा एक दिनको थाइल्यान्ड भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसित कुरा गर्दै जापानले पूर्वाधार विकास, प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन, विपद् न्यूनीकरणलगायतका क्षेत्रमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।

यस्तै, जापान सरकारबाट ३५० मिलियन जापानी ऐन बराबरको अनुदान नेपालमा खाद्य सहायता कार्यक्रम सन्चालन गर्न उपलब्ध गराउने महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको पनि उनले जानकारी दिए । जापानमा आयोजित नेपालमा लगानीसम्बन्धी सेमिनारमा लगानीकर्तामाझ नेपालको कृषि, पर्यटन, जलविद्युत्लगायतका क्षेत्रहरुमा लगानी गर्न आह्वान गरेको उनको भनाई छ ।