Swornakshar Logo

नेकपाले विषेश प्रदेश कमिटी बनाउने

७ मंसिर । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष प्रदेश कमिटी बनाउने भएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले राजधानीमा रहेका विशेष जिल्ला कमिटीहरु चलाउन विशेष प्रदेश कमिटी बनाउने निर्णय गरेको हो । साथै बैठकमा आएका सुझावलाई समेटेर मापदण्डलाई अन्तिम रुप दिने र आसन्न स्थायी कमिटी बैठकमा पेश गर्ने निर्णय समेत भएको छ ।
भोलिको बैठकमा केन्द्रीय सदस्यहरुको जिम्मेवारीबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आजको बैठबाट मुख्यमन्त्रीद्वयको प्रदेश इञ्चार्ज पद तत्काल नखोस्ने भएको छ ।

अन्तर पार्टी निर्देशन (अपानि–१) विपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी प्रदेश इञ्चार्जको पद दिएको भन्दै नेकपामा ठूलो असन्तुष्टि पोखिएको थियो ।

शीर्षतहमै विरोध भएपछि महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिनुअघि मापदण्ड बनायो, जसमा सचिवालय सदस्यहरुले शुक्रबार सुझाव दिएका छन् । शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकले आएको सुझावका आधारमा आवश्यक पुनर्विचार गरी यसलाई स्थायी कमिटीमा पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

स्रोतका अनुसार प्रदेश कमिटीको इञ्चार्जरसहइञ्चार्ज तथा प्रदेश अध्यक्ष, उपाध्यक्ष र सचिवबारे यसअघि भएको निर्णय हेरफेर हुने छैन । तर, कमिटीका सदस्यहरु गठनमा भने मापदण्ड लागू हुनेछ ।

नेकपा स्रोतले भन्यो, ‘भर्खरै निर्णय भएकाले मापदण्ड विपरीत भए पनि मुख्यमन्त्रीको इन्चार्ज पद अहिले नै खोसिँदैन । अर्को कुनै सन्दर्भमा निर्णय भएछ भने त्यसबेलाको परिस्थिति अनुसार होला ।’