Bagmati Samachar Logo

झगडा कुन घरमा छैन ? पार्टीमा पनि भइहाल्छःदेउवा

४ मंसिर । विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको झगडा सामान्य भएको बताए । उनले प्रत्येक घरभित्र पनि झगडा हुने बताउँदै पार्टीभित्रको विवाद सामान्य भएको टिप्पणी गरे । नेपाल प्रेस युनियन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले भने, ‘झगडा नभएको कुनै घर छ देखाउनुस त रु घर जस्तै पार्टीमा पनि झगडा र विवाद हुन्छन् । यसलाई मिलाउने हो, म मिलाउने प्रयास पनि गर्दैछु ।’

उनले नेताहरुबीच बोलचालसमेत नहुने गरेको सुनेर आफू पनि छक्क परेको बताउँदै मंसिर २ गते महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला विराटनगर आइ मिलेको सन्देश दिँदा आफु नआत्तालिएको बरु यसले अब पार्टीको एकतामा सकारात्मक सन्देश पुगेको बताए ।

देउवाले भने, ‘परिवार त्यसपछि गाउँ अनि जिल्ला र पार्टी सबै मिल्नु राम्रो कुरा हो । मिलेरै अघि बढ्ने हो ।’ पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि देउवासँगै थिए । कोइराला परिवारमाजस्तै अब कांग्रेस पार्टीभित्रको झगडा पनि मिल्ने बताए । पार्टी सञ्चालन गर्नु कठिन काम भएको देउवाको भनाइ थियो ।

देउवाले पार्टीमा रहेको समूह, उप–समूह, गुट र उप–गुटले आफू पनि दिक्क भएको बताउँदै मिलाउने प्रयासमा लाग्दा हायल कायल भएको सुनाए । पार्टीमा एक भएको फोरम लोकतान्त्रिक मिलाउने क्रममा उप–सभापति मनन् गर्नु राजनीतिक निर्णय भएको त्यो विधान नमिचिएको दाबी गर्दै देउवाले भने, ‘मैले सकेसम्म मिलाउने प्रयास गरेको छु । यो राजनीतिक निर्णय हो ।’

नेविसंघको विषय मिलिसकेको चर्चा गर्दै देउवाले महासमिति बैठक नसर्ने बताए ।