Swornakshar Logo

फिलिपिन्सकी राजकुमारीले मन पराइन् नेपाल

४ मंसिर  ।

हेटौँडा । मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरि गाउँपालिका–८, सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिस पार्कको सोमबार फिलिपिन्सकी राजकुमारी मारिया अमोर टोरेस भ्रमण गरिन्। उनीसँगै शान्तिदूत अफिनिता चाइचाना थिइन्। अवलोकन भ्रमणका क्रममा राजकुमारी मारिया अमोरले आफूलाई नेपाल मन परेको बताइन्। उनले भनिन्, ‘यहाँको हावापानी मात्र होइन, मानिसहरु पनि साह्रै सहयोगी र मायालु भावनाका रहेछन्।’

उनले निर्माणाधीन पिस पार्कको विकासमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाइन्। उनले पिस पार्क निर्माणमा देखिएको उत्साहलाई कायम राख्न समेत सुझाइन्। राजकुमारीको टोलीले त्यस क्षेत्रको भ्रमणसँगै ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषयक प्रवचन कार्यक्रममा समेत सहभागिता जनाएकी थिइन्। उनको स्वागतमा आयोजित सभामा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठ, नेपाली कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र गीता वाग्लेलगायतको सहभागिता रहेको थियो।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको निमन्त्रणामा राजकुमारी मारिया अमोर पिस पार्कमा आएकी हुन्। पिसपार्कमा निर्माण भएको बुद्धको प्रतिमा, दुईवटा गोलघर, मुख्यगेटलगायतका संरचनाहरुका उद्घाटन गरेकी थिइन्। सात हेक्टर क्षेत्रमा फैलिएको पार्कमा ध्यान केन्द्र, पोखरी, गुम्बा, आमाघर (आश्रम) लगायत भौतिक पूर्वाधार निर्माण गर्न बाँकी रहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए। तीन वर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिस पार्क निर्माण भइरहेको छ। यसका लागि स्थानीय सामुदायिक वन, मनहरि गाउँपालिका तथा विभिन्न संघसंस्था र व्यक्तिहरुको आर्थिक सहयोग रहेको छ।