Swornakshar Logo

मुलुकभरका २५० कपडा उद्योग बन्द

१ मंसिर । काठमाण्डौं । कपडा उद्योगीहरुले शनिबारबाट मुलुकभरका २ सय ५० वटा कपडा उद्योगहरु बन्द गरेका छन् । नेपाल कपडा उद्योग संघले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी शुक्रबारसम्म मुलुकभरका २५० वटै कपडा उद्योगहरु बन्द गर्ने जनाएको हो । सरकारले ल्याएको आर्थिक ऐन मार्फत उद्योगहरुलाई दिँदै आएको सुबिधा कटौती गरेपछि उद्यागीहरुले सांकेतिक विरोध स्वरुप उद्योग बन्द गरेका हुन् । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शैलेन्द्र लाल प्रधानले मंसिर ७ गतेसम्म कपडा उद्योगहरु पूर्ण रुपमा बन्द गरिएको बताए ।

सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट फिर्ता तथा समायोजनको प्रावधान हटाएको विरोधमा उद्योग बन्द गर्नुपरेको उद्योगीहरुको भनाइ छ । गत असोज १३ गते संघले सरकारलाई नीति सच्चयाउनका लागि मागपत्र दिएको थियो । सरकारसँग बारम्बार छलफल गर्दा पनि कुनै निकास नदिएको संघका अध्यक्ष प्रधानले बताए । कपडा उद्योगमा मुलुकमा १० अर्ब बराबरको लगानी रहेको छ ।

उद्योगीहरुको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले पनि समर्थन गरेको छ । महासंघ र परिसंघले सरकारको नीति समृद्धि भएपनि नारा अनुसार सरकारले काम नगरेको बताएका छन् ।