Bagmati Samachar Logo

नाराबाजीले कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेन

१ मंसिर । काठमाण्डौं । नेपाल विद्यार्थी संघको नेतृत्व महाधिवेशन मार्फत चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्दै दुई समुहले नाराबाजी गरेपछि केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएपछि बैठक बस्न नसकेको हो ।

नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल गर्न बोलाईएको पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आएका नेताहरुलाई दवाव दिन दुबै पक्षले कार्यालय परिसरमा नाराबाजी गरेका हुन् । पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य वीर बहादुर बलायरले शान्त बस्न आग्रह गर्दा विद्यार्थी र बलायरबीच हात हालाहालको अवस्था श्रृजना भएको थियो ।

नेविसंघका केन्द्रीय सदस्य शुशिल भट्ट लगायतको समुहले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गर्दै टिके प्रथाको विरोधमा नाराबाजी गरेको हो । अर्का विद्यार्थी नेता बलदेव तिमिल्सिना लगायतको समुहले नयाँ तदर्थ समिति गठन गरेर अघि बढ्नु पर्ने माग गर्दै नाराबाजी गरेका हुन् । दुवै पक्षले आ–आफ्नो हितमा निर्णय गराउन पार्टी कार्यालयमा नाराबाजी गरेका हुन् ।

बैठकमा सहभागी हुन आएका सभापति शेर बहादुर देउवालाई दुवै पक्षले घेराबन्दी गर्दै नाराबाजी गरेका थिए । नेविसंघले ३ महिना अघि पार्टी केन्द्रीय समितिमा पेस गरेको विधान र नियमावलि पास हुन नसक्दा नेविसंघको भावी नेतृत्वमा अन्यौल छाएको हो । आईतबारदेखि नेविसंघको थप गरिएको पदावधि पनि सकिँदै छ ।

विद्यार्थी नेता भट्ट समुहले हालको पदाधिकारीलाई नै महासमिति आयोजक समिति बनाई प्रजातान्त्रिक प्रक्रियाबाट महाधिवेशन मार्फत नेतृत्व चयन गर्नुपर्ने अडान लिँदै आएको छ ।