Swornakshar Logo

कर दिवसका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

मंसिर १ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौं राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता, कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्रसेवक कर्मचारीमा शुभकामना व्यक्त गरेका छन् ।

यो वर्ष हामी करः समृद्ध नेपाल, सुखी नेपालीको भर भन्ने मूलनाराका साथ साताव्यापी रुपमा कर दिवस मनाइँदैछ ।

प्रधानमन्त्रीले कर दिवसले सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजूभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीको प्रभावकारी रुपमा पालना गर्न प्रोत्साहित गर्ने शुभेच्छा प्रकट गरेका छन् ।

‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिंदैन् । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन । यो आमजनताको दैनिक जीवनस्तर उकास्न प्रतिवद्ध यो सरकारले राजश्व संकलनलाई प्रभावकारी बनाउँदै राजश्व चुहावट रोक्ने दिशामा सफलता प्राप्त गरिरहेको छ,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।

उनको सन्देशमा भनिएको छ, ‘चालू आर्थिक वर्ष २०७५(७६ को असोज महिनासम्म राजश्व संकलनमा ९४ प्रतिशत उपलब्धी हासिल भइसकेको छ । यस अवधिमा राजश्व संकलनमा झण्डै २६ प्रतिशतले वृद्धि भएको देखिन्छ । यही अवधिमा आम्दानी करको संकलनमा ३७ प्रतिशतभन्दा बढी प्रगति भएको छ । राजश्व संकलनको यो उत्साहजनक क्रमले अझै गति पाउने छ र समृद्ध नेपाल, सुखी नेपालीे हामी सबैको सझा संकल्प अवश्य पूरा गरिनेछ ।’

प्रधानमन्त्रीले वर्षौंदेखिको राजनीतिक संघर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धि दरलाई तीव्र र दीगो बनाउन राज्यका सबै संरचनाहरुको परिचालन हुनै पर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘हामीले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समाजवादउन्मुख समृद्ध अर्थव्यवस्थाको निर्माण गर्ने मार्गचित्र कोरिसकेका छौं । त्यसैले हाम्रो राष्ट्रिय आकांक्षालाई मूर्त तुल्याउन आन्तरिक राजश्वको परिचालन अझ प्रभावकारी रुपमा गर्न आवश्यक छ ।’

प्रधानमन्त्रीले सरकार आय आर्जनका सबै क्षेत्रलाई करको दायरामा ल्याई स्वेच्छिक कर सहभागिता मार्फत राजश्व प्रणालीलाई सक्षम र सुदृढ बनाउँदै लगेको जनाएको छन् ।
‘तर सरकारले सुरु गरेको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने पहललाई सार्थक तुल्याउन हरेक कर्तव्यनिष्ठ नेपाली नागरिक लगायत सम्बन्धित सबैको थप कृयाशीलता आवश्यक पर्दछ,’ सन्देशमा भनिएको छ ।
‘कर भनेको कुनै पनि वस्तु वा सेवा उपभोग गरे वापत तिर्नु पर्ने अतिरिक्त रकम हो । राज्यले उपलब्ध गराउने यस्ता सेवामार्फत संकलन गरिने कर नै राज्य कोषको प्रमुख आधार पनि हो । तसर्थः हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिए वापत कर तिर्नुपर्छ सोंच हुन्छ ।’