Swornakshar Logo

देउवा र पौडेलको आ–आफ्नै अडान कायम

३० कार्तिक ।

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको गुटगत स्वार्थका कारण नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्योलमा परेको छ। पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्ष संघको नेतृत्व आफ्नो अनुकूल बनाउन सक्रिय रहँदा संघको वैधानिक व्यवस्था मात्र होइन वर्तमान नेतृत्वको थपिएको कार्यकाल सकिन लाग्दासमेत महाधिवेशन अनिश्चित बनेको हो।
नेविसंघ नेतृत्वको दुईवर्षे कार्यकाल गत भदौ २ गते सकिएपछि विधानबमोजिम तीन महिनाका लागि कार्यकाल थप गरिएको थियो। थपिएको कार्यकाल आगामी मंसिर २ बाट अतिरिक्त समय सकिन लाग्दासमेत संघको महाधिवेशन मिति तोकिएको छैन। साथै तल्लो तहको अधिवेशनको कार्यतालिका पनि सार्वजनिक हुन सकेको छैन। थपिएको कार्यकाल सकिन केही दिन मात्र बाँकी रहँदा पार्टी नेताहरूको स्वार्थका कारण संघको विधानसमेत टुंगो लाग्न सकेको छैन।

विधानअनुसार अब कार्यकाल थप गर्न मिल्दैन । थपिएको कार्यकालभित्र पनि महाधिवेशन नभएमा कार्यसमिति संघ स्वतः विघटन हुने वैधानिक व्यवस्था छ ।
असोज २२ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले नेवि संघमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरे पनि त्यसपछि विधानको विषयमा कांग्रेसभित्र छलफल हुन सकेको छैन । ११औं महाधिवेशनअघिकै सहमति भन्दै पार्टी संस्थापन पक्षले बहुमतका आधारमा संघमा उमेर हद लगाउने निर्णय लिएको छ । नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननसिंह केसीसहितले उक्त निर्णयमा असहमति दर्ज गराएका छन्।
पार्टीभित्रका असन्तुष्ट संघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय फिर्ता गर्नुपर्ने पक्षमा छन् ।