Swornakshar Logo

सर्लाहीमा गोली चल्दा एकको मृत्यु, सात घाइते

१३ कार्तिक ।

सर्लाही । सर्लाहीको रामवन गाउँपालिकामा झडप हुनुका साथै गोली चलेको छ । झडपमा चलेको गोली लागेर एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

रामवन गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका करिब ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएको सर्लाही क्षेत्र नं. ४ अन्तर्गत प्रदेशसभा ‘क’ बाट निर्वाचित सांसद विरेन्द्र सिंहले जानकारी दिए ।

यस्तै घाइतेलाई लिन गएको एम्बुलेन्समा समेत आक्रमणकारीले तोडफोड गरेको उनले बताए । घटना भएको ३र४ घण्टा वित्दा समेत सुरक्षा निकायले कुनै कारबाही अगाडी बढाउन नसकेको सांसद सिंहले जानकारी दिए ।

सांसद सिंहका अनुसार वडा अध्यक्ष महतोलाई पनि सोही आक्रमणकारी समूहले सोमबार दिउँसो कार्यालय जाँदै गर्दा कुटपिट गरेको थियो । आक्रमणकारीको कुटपिटबाट महतोको टाउँकोमा गहिरो चोट लाग्नुका साथै खुट्टा भाँचिएको छ ।

वडा अध्यक्ष महतो सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा सोमबार साँझदेखि उपचाररत छन् । प्रहरी उपरिक्षक पोषराज पोखरेलले गोली लागेर एकजनाको मृत्यु भएको र ५र७ जना सामान्य घाईते भएको जानकारी आएको बताए।
‘स्थिति असामान्य भएको छ’, उनले भने, मृतकको शव पनि उठाउन दिइएको छैन, सशस्त्र प्रहरी सहित हाम्रो ठुलो संख्यामा टोली परिचालन गरेर घटनास्थल नियन्त्रणमा लिने प्रयास भइरहेको छ।’

घटनाबारे गम्भिर अनुसन्धान अगाडी बढाइएको र आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिन टोली खटिएको प्रहरी उपरिक्षक पोखरेलले बताए । घटनास्थल सदरमुकाम मलंगवाबाट १५र२० किलोमिटर पश्चिम पर्छ। तर, अहिलेसम्म घटनाको कारण भने पुष्टि हुन सकेको छैन ।