Swornakshar Logo

नेकपाको स्थायी कमिटी बैठक बोलाउने तयारी

१८ असोज ।
काठमाडौं । पार्टी र सरकार एकलौटी रुपमा दुई अध्क्षले मनमानि तरिकाले संचालन गरेको भन्दै पार्टीका उच्च तहबाट नै विरोध आउन थालेपछि नेकपाले स्थायी समितिको बैठक बोलाउने तयारी गरेको छ ।
अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएपछि छलफल हुने भएको छ । अर्का असन्तुष्ट नेता माधवकुमार नेपाल पनि आजै राती चीनबाट स्वदेश फर्किदैछन् ।

सबै नेताहरुको कामको सचिवालय बैठकमा समीक्षा हुने र त्यसपछि दशैंअघि नै स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको नेकपाको उच्च स्रोतले बताए ।

स्थायी समितिको बैठकको लागि महासचिव बिष्णु पौडेलले तयारी गरिरहेका छन् । दुवै अध्यक्षसँग सल्लाह गरेर स्थायी समिति बैठकको मिति तोकिने छ ।

दुई जना सचिवालय सदस्य बाहिर भएको समयमा सचिवालय बैकले प्रदेश पदाधिकारी चयन गरेकोमा नेकपामा अशन्तुष्टि छ । प्रदेश कमिटी गठनको प्रस्ताव स्थायी कमिटी बैठकमा लगेरमात्र पारित हुनुपर्ने अस्तुष्ट नेताको माग छ ।

बरिष्ठ नेता नेपालले सचिवालयको सो निर्णयको विरोधमा स्थायी समिति सदस्यहरुको अनौपचारिक भेला गरेका थिए । स्थायी समिति बैठकबाट सचिवालयले गरेको निर्णय तथा परिपत्र अनुमोदन गरिनेछ ।

प्रदेशभन्दा तल्ला कमिटीको एकीकरणका लागि थप मापदण्ड पनि स्थायी कमिटी बैठकबाटै पारित हुने संम्भावना रहेको छ । त्यसअघि सचिविालय बैठकमा पनि यो विषयमा छलफल हुने छ ।

नेपालले संसदबाट सरकारविरुद्ध अभिव्यक्ति दिएकोमा संस्थापन पक्षले बैठकको एजेण्डा बनाउने तयारी गरेको छ ।