Swornakshar Logo

महिला हिंसा नियन्त्रण गर्न सांसदहरुको सरकारसँग माग

२ असोज ।
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा उनीहरुले पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मलाको हत्या भएको लामो समय भइसक्दा पनि दोषीलाई कारवाही गर्न नसक्दा कानूनी शासन र सरकारको सामथ्र्यमाथि नै प्रश्न खडा भएको बताए । बैठकमा सांसद बसन्तकुमार नेम्वाङले संविधान कार्यान्वयन गर्न मौलिक हक कार्यान्वयनका लागि आवश्यक विधेयक पारित भएकोमा खुशी व्यक्त गर्दै अब विकास निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताए ।

सांसद बिन्दा पाण्डेले मौलिक हकको कार्यान्वयनले अन्य वर्ग र समुदायसँगै महिलालाई पनि विशेष अधिकार प्रदान गर्ने भन्दै यसले महिला हिंसामा कमी आउने बताए । सांसद विमला विश्वकर्माले सुखी नेपाली समृद्ध नेपालको मूल उद्देश्य प्राप्तिका लागि अब आर्थिक र विकास निर्माणका काम समयमै गर्न बजेट निकास हुनुपर्ने धारणा व्यक्त गरे । सांसद विशाल भट्टराईले खोटाङको जिल्ला अस्पतालमा आवश्यक पूर्वाधारको कमी हँुदा जनताको उपचारमा समस्या देखिएको अवगत गराउँदै अस्पतालमा ५० शैया व्यवस्था गर्न माग गरे ।

सांसद शान्ता चौधरीले सरकारमाथि आलोचना गर्न साना विषयलाई पनि पहाड बनाइएको भन्दै सरकारमाथि चौतर्फी आक्रमण भएको टिप्पणी गरीन ।सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै सो क्षेत्रअन्तर्गत बाटोमा पर्ने केही पुल चाँडो बनाउन माग गरे । सांसद सत्यनारायण शर्मा कुमालले निर्मला पन्तको हत्याका दोषी पत्ता लगाउन ढिलाइ भएको भन्दै न्यायका लागि निर्मलाका बुबाआमाले प्रधानमन्त्रीलाई भेट्नुपर्ने अवस्था किन आयो भनी प्रश्न गरे ।

सांसद सरिताकुमारी गिरीले सप्तरीमा हङकङ स्वाइनफ्लुबाट बालबालिकाको मृत्यु भएको बताउँदै त्यसको नियन्त्रणका लागि सरकारसँग माग गरे । सांसद सञ्जयकुमार गौतमले बर्दियामा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता बाघ, हात्ती र गैँडाको आक्रमणबाट पीडित भएको भन्दै विद्युतीय तारबारको व्यवस्था गर्न सरकारसँग माग गरे ।