सुर्खेतमा गिरीको हत्या गर्न भारतीय सुटर प्रयोग गरेको
काठमाडौं । तरुण दल सुर्खेतका सदस्य विनोद गिरीमाथि गोली प्रहार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यलय सुर्खेतले पक्राउ गरी सार्वजनिक गरेको छ । शनिबार राति करिब साढे ८ बजेको समयमा गिरीमाथि गोली प्रहार भएको थियो ।
शनिबार राति गिरी सवार गाडीमाथि वीरेन्द्रनगर नगरपालिका– १ स्थित गैरीचोकमा गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट गिरीको गाडीमा क्षति पुगेको छ । घटनामा संलग्न मोटरसाइकल चालक कैलाली गौरीगंगा नगरपालिका– २, का १८ वर्षीय इन्द्र विक, सोही ठाउँ बस्ने १८ वर्षीय भरत भुललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
यस्तै, गिरीमाथि गोली प्रहार गर्ने भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत र उनलाई सुर्खेतमा बासको व्यवस्थापन गर्ने वीरेन्द्रनगर– ४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटनाको मुख्य योजनाकारलाई भने प्रहरीले खोजी गरिरहेको छ । उक्त व्यक्तिका बारेमा प्रहरीले हालसम्म केही बोलेको छैन । व्यक्तिगत रिसइबीका कारण गिरीको हत्या प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । तर, कोसँग के रिसइबी थियो भन्ने विषय भने गोप्य राखिएको छ । घटनास्थलबाट प्रहरीले १ थान कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल बरामद गरेको छ ।
यसरी बनेको थियो हत्याको योजना
गिरीको हत्याका लागि विगत डेढ महिनादेखि मुख्य योजनाकारले इन्द्र विकसँग ह्वाट्स एप म्यासेजमा सामान्य चिनजान भई हत्या योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटना भएको करिब २० देखि २५ दिनअगाडि इन्द्र र मुख्य योजनाकारबीच कैलालीको अत्तरियामा भेटघाट भई सामान्य कुराकानी भएको थियो । १० देखि १२ दिनअगाडि उक्त व्यक्तिले कैलालीको लम्कीस्थित टीएमटी होटलमा इन्द्र विक र भरत भुल तथा भारतीय सुटर रोहित राजपुतलाई बोलाएर घटनाका बारेमा जानकारी गराएपश्चात् हत्याको पूर्वयोजना बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए ।
यस्तै, ८ देखि ९ दिनअगाडि इन्द्र विक र भरत भुललाई मुख्य आरोपीले नेपालगञ्जमा बोलाई हामीसँग सुटर छ, सुर्खेत बस्ने विनोद गिरीलाई मार्नुपर्छ भनेर डेढ लाखको सुपारी दिने आश्वासन दिएका थिए । नेपालगञ्जमा उक्त व्यक्तिले इन्द्र विकलाई १ नाल कटुवा पेस्तोल र २ राउण्ड गोली उपलब्ध गराएका थिए ।
त्यसको २ दिनपछि भारतीय सुटर रोहित राजपुत, इन्द्र विक, भरत भुल र हत्याका मुख्य योजनाकारबीच नेपालगञ्जमा भेट भई थप योजना बनेपश्चात् इन्द्र विकले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मुख्य आरोपीले गिरीको हत्या गरेबापत भारतीय सुटर रोहित राजपुतलाई २ लाख रुपैयाँ दिने सहमति गरेका थिए । त्यसपश्चात् नेपालगञ्जमा इन्द्र विकले रोहित राजपुतलाई उक्त कटुवा पेस्तोल र गोली दिएपश्चात् ७ फागुनमा सुटर रोहित राजपुत सुर्खेत आएर वीरेन्द्रनगर– ४ स्थित गणेश होटलमा बस्दै आएका थिए । रोहितलाई होटलमा बास बस्ने व्यवस्था वीरेन्द्रनगर– ४ का राजन गिरीले गरेका थिए ।
यस्तै, ९ फागुनमा इन्द्र र भरतलाई मुख्य आरोपी व्यक्तिले नेपालगञ्जमा भे ५प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएपश्चात् उनीहरू पूर्वयोजनामुताबिक नेपालगञ्जदेखि सुर्खेत आएको प्रमुख खड्काले बताए । सुर्खेतमा एक अर्का व्यक्तिले (जो प्रहरीको खोजीमा छन्) विनोद गिरीको घर ठेगानालगायत सबै देखाई चिनाइदिएको तथा होटलमा खाने व्यवस्था मिलाएका थिए ।
हत्याको पूर्वयोजनाअनुरुप शनिबार इन्द्रले चलाएको मोटरसाइकलको पछाडि बसेका भारतीय सुटर रोहितले गिरी सवार गाडीको पिछा गर्दै वीरेन्द्रनगर– १ स्थित गैरीचोकमा १ राउण्ड गोली प्रहार गरेका थिए । घटनापश्चात् गिरी सवार गाडी र मोटर साइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गर्ने भारतीय नागरिक रोहित राजपुत, मोटरसाइकलचालक इन्द्र विक, भरत भुल र प्रतिवादीहरूलाई होटलमा बस्ने व्यवस्था मिलाउने राजन गिरीलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी प्रमुख खड्काले बताए ।
उनीहरूमाथि थप अनुसन्धान कार्य जारी रहेको । पक्राउ परेका तीनै जनामाथि ज्यान मार्ने र हातहतियार खरखजानासम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: