जेनजी प्रर्दशनको क्रममा भीमफेदी कारागारबाट फरार कैदीको गैंडाकोटमा हत्या
काठमाडौं । जेनजी प्रर्दशनका क्रममा भीमफेदी कारागारबाट फरार भएका एक कैदीको हत्या भएको छ। पूर्वी नवलपरासीको गैंडाकोटमा धारिलो हतियार प्रहारबाट फरार कैदी नारायण कुमालको हत्या भएको हो।
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ इँटाभट्टा नजिकै कात्तिक ६ गते राति हत्या भएको प्रहरीले जानकारी दिएको छ । २८ वर्षीय कुमालको घर कालिका नगरपालिका–४ पदमपुरमा हो ।
स्थानीय युवाहरूको समूहले आक्रमण गरेर फरार कैदी कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिए।
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ गरिएको छ। मृतक कुमाल जर्बजस्ती करणी मुद्दामा सजाय काट्दै थिए।
अदालतले उनलाई १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। २०७४ साउन ३ गते पक्राउ परेका उनी २०८४ मा कैद अवधि पूरा गरी मुक्त हुने क्रममा रहेका थिए।
भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारमा भएको तोडफोडपछि कुमाल फरार भएका थिए। कारागार प्रशासनका अनुसार, फरार भएपछि उनलाई स्वेच्छाले फर्कन आग्रह गरिएको थियो तर उनी कारागारको सम्पर्कमा गएका थिएनन्।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: