एमाले बैठकमा ओली, कर्ण थापा र कृष्णगोपालबीच भनाभन
काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, नेता कर्ण थापा र कृष्णगोपाल श्रेष्ठबीच भनाभन भएको छ । बैठकमा महासचिव शंकर पोखरेललाई राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नदिएपछि थापाले प्रतिवाद गरेका हुन् ।
‘एजेन्डामा संशोधन गर्नुपर्छ । महासचिवलाई कार्यक्रम सञ्चालन गर्न पनि दिनुपर्छ । अध्यक्ष आफैँले एजेन्डा राख्ने होइन,’ ओलीले कुनै पदाधिकारीलाई बोल्न नदिई आफैँ राजनीतिक प्रतिवेदन र एजेन्डा राखेपछि थापाले बैठकमा भने ।
जवाफमा ओलीले ‘तपाईंको के हो ? लेखेर दिनुस्,’ भनेका थिए । त्यसपछि ओलीले लिखित केही भए ह्वाट्सएप गरिदिन भनेका हुन् ।
केन्द्रीय कमिटीको बैठकमा पुनर्गठन कार्यदलको प्रतिवेदन आफ्नो राजनीतिक प्रतिवेदनमा आइसकेको दाबी ओलीले गरेका थिए । कुनै उपाध्यक्ष र पदाधिकारीलाई बोल्न नदिई ओलीले आफैँ एजेन्डा राख्ने, पास भएको घोषणा गरेका थिए । भोलिदेखि प्रत्येक सदस्यलाई तीन मिनेट बोल्ने समय छुट्याएका थिए ।
उनको घोषणापछि थापाले फरक मत छ भनेर ४० पेजको डकुमेन्ट राख्न खोजेका थिए ।
बैठकमा अर्का नेता कृष्णगोपाल श्रेष्ठसँग पनि ओलीको भनाभन भएको छ । कृष्णगोपालले ‘महासचिवलाई कार्यक्रम चलाउन दिनुस्, प्रतिवेदन प्रस्तुत गर्न दिनुस्’ भनेका थिए। जवाफमा ओलीले ‘तपाईं बस्नुस्’ भनेलगत्तै श्रेष्ठ पुनः जाइलागेका थिए । ‘मलाई बस्नुस् भन्ने तपाईं को हो ?,’ श्रेष्ठले भनेका थिए ।
केन्द्रीय कमिटीअघि सचिवालयको बैठकमा पनि सदस्यहरूले राजनीतिक प्रतिवेदन मागेका थिए । तर, ओलीले ‘म प्रतिवेदन केन्द्रीय कमिटीमै प्रस्तुत गर्छु, त्यहीँ सुन्ने, म दिन्नँ’ भन्दै ललितपुरको भनिमण्डलस्थित केन्द्रीय कमिटी बैठकस्थलमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्: