Bagmati Samachar Logo

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परेर चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ ।

शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उनले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ ।

यस्तै हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) रहेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।
व्यवस्थापन गरिएका शवको पहिचान राखेको छ । पछि आफन्त आएर डिएनए परिक्षण गर्दा मिलेमा जिम्मा लगाउने सरकारले बताएको छ ।