उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालको आक्रोश– लास नदी किनारमा छन्, सरकार आकाशमा देखिन्छ
काठमाडौं । भोटेकोसी बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको तर उद्धारको कामले गति लिन नसकेको भन्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले गम्भीर असन्तुष्टि व्यक्त गर्दै आक्रोश पोखेका छन् । अध्यक्ष अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा आफू प्रत्यक्ष रूपमा रहेर काम गरिरहेको तर उद्धार, उपचार, राहत तथा शव व्यवस्थापनमा राज्यको प्रभावकारी उपस्थिति महसुस गर्न नसकिएको बताएका छन् ।
उनका अनुसार बाढीको सूचना जारी गर्न खटिएका चार कर्मचारी अझै बेपत्ता छन् भने सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको शव पहिचानपछि दाहसंस्कार गरिएको छ । कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षकहरूसमेत सम्पर्कविहीन रहेको उनले बताएका छन् ।
वेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार, मैलुङलगायत क्षेत्रमा ठूलो मानवीय क्षति भएको र भूकम्पपछि ११ वर्षदेखि अस्थायी बसोबास गर्दै आएका करिब ३०० परिवारसमेत प्रभावित भएको अर्यालको भनाइ छ । त्रिशुली–३ बी तथा माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका नेपाली तथा विदेशी कामदारसमेत हराइरहेको उनले उल्लेख गरेका छन् । केही कामदार सुरुङभित्र फसेको खबर आइरहेको उनको भनाइ छ ।
गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका यात्रुहरू पनि हराइरहेको र आफन्तहरूले खोजी तथा उद्धारका लागि हारगुहार गरिरहेको उनले बताएका छन् । सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको, विद्युत् आपूर्ति बन्द हुँदा मोबाइल नेटवर्कमा समेत समस्या आएको र मोबाइल बन्द भएका कारण धेरैसँग सम्पर्क हुन नसकेको अध्यक्ष अर्यालले उल्लेख गरेका छन् । टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा पनि ठूलो मानवीय क्षति भएको बताउँदै उनले मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा क्षति ‘अकल्पनीय’ रहेको बताएका छन् ।
‘हेलिकोप्टरको प्रतीक्षा गर्दा १० घण्टा बित्यो’
मरणासन्न अवस्थामा रहेका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि विभिन्न निकायसँग समन्वय गर्दासमेत समयमै हेलिकोप्टर उपलब्ध हुन नसकेको अर्यालले बताएका छन् । उनका अनुसार घाइतेलाई कालिकास्थान–जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पताल पुर्याउनुपर्ने अवस्था आएको थियो ।
नदी किनारमा ५० भन्दा बढी शव देखिएको दाबी गर्दै उनले पहिचान भएका शवको दाहसंस्कारका लागि प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न नमिल्ने’ जवाफ पाएको बताएका छन् । बाढीमा ठूलो संख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको र कालिकास्थानमा इन्स्पेक्टरसहित पाँच–छ जना प्रहरी खाना तथा पानीको अभावमा खटिइरहेको उनले उल्लेख गरेका छन् ।
सरकारको सामाजिक सञ्जालमा देखिने सक्रियता र प्रभावित क्षेत्रमा देखिएको सरकारी उपस्थितिबीच ठूलो अन्तर रहेको टिप्पणी गर्दै उनले भनेका छन्, ‘हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ ।’
‘नकारात्मक प्रचार नगर्नू भन्ने फोन आयो’
अर्यालले केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट फोन आएको पनि बताएका छन् । आफूलाई ‘नकारात्मक प्रचार नगर्न’ र ‘राजनीति नगर्न’ आग्रह गरिएको उनले जानकारी दिएका छन् । त्यसको जवाफमा आफूहरूले यस्तो आवाज उठाउन नपर्ने अवस्था सिर्जना गर्न सरकारसँग आग्रह गरेको उनले बताएका छन् ।
आफू नेकपा एमालेमा आबद्ध रहेको र दुईपटक केन्द्रीय सदस्य भइसकेको उल्लेख गर्दै उनले पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक पार्टीबाट आफूलाई खोजी नगरेको गुनासोसमेत गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा सुरेन्द्र पाण्डेसहित देशभरका नेता तथा सहयोद्धाले चासो व्यक्त गरेको उनले उल्लेख गरेका छन् ।
एमालेको आकस्मिक सचिवालय बैठकलगायतका गतिविधि सामाजिक सञ्जालमा मात्र सीमित नराखी प्रभावित क्षेत्रमा प्रत्यक्ष परिणाम देखिने गरी काम गर्न उनले आग्रह गरेका छन् ।
३५० प्रभावितलाई विद्यालयमा आश्रय
अध्यक्ष अर्यालका अनुसार हाल उत्तरगया गाउँपालिकाका करिब ३५० प्रभावितलाई निलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ । कालिका र नौकुण्ड गाउँपालिकाबाट प्राप्त खाद्यान्न तथा अन्य सहयोगले करिब तीन दिनसम्म धान्ने अवस्था रहेको उनले बताएका छन् ।
प्रभावितहरू विद्यालयको भुइँमा कालो म्याट्रेस ओछ्याएर रात बिताउन बाध्य रहेको उनले उल्लेख गरेका छन् । स्थानीय बासिन्दाले समेत आफ्ना घरमा प्रभावितलाई आश्रय दिइरहेको उनले बताएका छन् । नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि आवश्यक विशेष व्यवस्था गर्न नसकिएको भन्दै उनले तत्काल प्राथमिकताका साथ सहयोग आवश्यक रहेको बताएका छन् ।
शव व्यवस्थापन र घाइतेको उद्धार तत्काल गर्न माग
नदी किनारमा रहेका शव कुहिन थालेकाले गाउँमा दुर्गन्ध फैलिएको र संक्रमणको जोखिम बढेको भन्दै अध्यक्ष अर्यालले तत्काल शव व्यवस्थापन गर्न माग गरेका छन् । बिरामीको संख्या बढिरहेको भन्दै तत्काल उद्धार र उपचारको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा समेत धेरै मानिस रहेको र खाद्यान्नलगायत सामग्रीको अभाव भएको खबर आएको भन्दै उनले उनीहरूलाई सुरक्षित स्थानमा उद्धार गरी आवासको व्यवस्था गर्न आग्रह गरेका छन् ।
त्रिशूली नदीको वारि–पारि फसेका तथा परिवारबाट सम्पर्कविहीन भएका नागरिकलाई उद्धार गरी परिवारसँग पुनर्मिलन गराउनुपर्ने, घरबारविहीन परिवार, बेपत्ता व्यक्ति, अभिभावकविहीन बालबालिका तथा ध्वस्त सार्वजनिक र निजी संरचनाको तथ्यांक संकलनलाई प्रभावकारी बनाउनुपर्ने उनको माग छ । सहयोग गर्न इच्छुक संघसंस्थालाई प्रभावित क्षेत्रमा काम गर्न आवश्यक सहजीकरण गरिदिन उनले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीसँग बिहीबार साँझ सम्पर्क भएको र तत्काल गर्नुपर्ने काम शुक्रबारबाट सुरु हुने जानकारी पाएको अर्यालले बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर राज्यको नजरमा ओझेलमा परेका क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम सुरु हुने विश्वास उनले व्यक्त गरेका छन् ।
यस्तो छ अध्यक्ष अर्यालले सामाजिक सञ्जालमा पोखेको आक्रोस
सबैमा नमस्कार 🙏
यतिवेला म बाढीले सर्वनाश गरेको क्षेत्रमा नै छु। बाढीको सूचना जारी गर्न खटिनुभएका हाम्रो होनहार कर्मचारीहरू ४ जना अहिलेसम्म बेपत्ता हुनुहुन्छ भने १ सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचान पछि दाहसंस्कार गरिएको छ। कार्यपालिका सदस्य ज्ञानु बिक, केही शिक्षकहरूसँग सम्पर्क हुन सकिरहेको छैन। वेत्रावती वजार क्षेत्र, कैदलेटार, पैरेबेसी, भुकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी वसोबास गरिरहेका झण्डै ३०० घर परिवार, सल्लेटार, मैलुङ क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू, त्रिशुली घद्य जलविद्युत आयोजनाको ठूलो संख्याका कर्मचारी र कामदारहरू, माथिल्लो त्रिशुली ज्ञ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चाइनिज, भारतीय र नेपाली कामरहरू ठूलो संख्यामा हराइरहनु भएको छ । सुरूङ भित्र फसेको भन्ने खबर आइरहेको छ। गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्कनुभएको धेरै यात्रीहरू हराइरहनुभएको छ । हराइरहनुभएका नजिकका आफन्तहरूले सम्पर्क गरेर हारगुहार गरिरहनुभएको छ। सडक सम्पर्कबाट यो क्षेत्र पूर्णरुपमा विच्छेद छ। विद्युत आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समस्या आएको र मोवाइल अफ भएर सम्पर्क हुन सकिरहेको छैन। टिमुरे, स्याफ्रुबेशी क्षेत्रमा धेरै नै मानवीय क्षति पुगेको छ। त्यो भन्दा बढी मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय क्षति पुगेको छ। घरवार विहीन परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ। मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालय देखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतिक्षा गर्दा पनि कुनै सुनुवाइ नभए पछि कालिकास्थान जिवजिवे अस्पताल हुदै १० घण्टापछि धुञ्चे अस्पतालमा लानुपर्ने अवस्था हामीले भोगेका छौँ ।
खोलाको किनारमा ५० औँ शवहरू देखिन्छ, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग सयन्वय गर्दा माथिको आदेशबाहेक केही गर्न मिल्दैन भन्ने जवाफ पाइन्छ । बाढीका कारण ठूलो संख्यामा सुरक्षाकर्मी वेपत्ता हुनुहुन्छ। बाँकी रहनुभएको कालिकास्थानको इन्स्पेक्टर सहित ५र६ जना प्रजहरू खाना पानी वेगर खटिनुरहनु भएको छ। माथिको आदेशबाहेक सामान्य सुरक्षा दिने काम बाहेक केही गर्न सक्नुहुन्न। सहकारी कार्यालयको व्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोष्ट पढेँ हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ सामाजिक सञ्जालमा देखिन्छ। मैले अघिनै भने केही क्षेत्रमा बाहेक विपदको अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन । जनताको प्रतिनिधि भएको र भुइँमा नै काम गरिरहेको स्रोत साधन र आफ्नो कार्यालयको परिवारको सदस्य र सयौं जनताहरू गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो। । आफन्त गुमाएका र घरवार विहिनहरूको आवाज पनि हो। केही संचार माध्यमलाई प्रतिक्रिया दिएको थिएँ। गृहमन्त्रीको सचिवालयबाट फोन आयो नकारात्मक प्रचार नगरिदिनुहोला राजनीति नगर्नुहोला भन्दै हुनुहुन्थ्यो । मैले जवाफ दिए हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस् हामी सरकार भएको अनुभूति गर्नेछौं । म आबद्ध पार्टी छ, सबैभन्दा क्षमतावान अनुभवी र दूरदर्शी नेतृत्व भएको दाबी गर्ने त्यसको नेतृत्व छ। २र२ पटक केन्द्रीय सदस्य भएको म केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्ट बाहेक कसैले खोजी गर्नुभएको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चासो र चिन्ता व्यक्त गर्नुभयो। सुरेन्द्र पाण्डे लगायत देशभरका नेता एवं सहयोद्धा साथीहरूले चासो र चिन्ता व्यक्त गर्नुभयो। सार्वजनिक सञ्जालमा देखे नेकपा एमालेको आकस्मिक सचिवालय बैठक भनेर । परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं। यसले पिडितलाई थप पिडा दिनेछ। के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं। नेकपा एमालेको संस्कार र संस्कृति यही हो। यी विषयहरू मैले उठाउनै पर्ने भएर मैले आफ्नो धारणा राखेको यसलाई धेरै नकारात्मक भएछ भनेर नबुझिदिनुहोला।
अहिलेको अवस्था
.हाम्रो क्षेत्रका लगभग ३५० प्रभावितहरूलाई निलकण्ठ मावि वोगटीटारमा राखेका छौँ । .कालिका र नौकुण्ड गाउँपालिकाबाट खाद्यान्न लगायतका अन्य सहयोग गरेर ठूलो पुण्यकर्म गर्नुभएको छ। यो खाद्यान्नले थप तीन दिनलाई धान्ने देखिन्छ ।
.विद्यालयको कोठाको भुइँमा कालो म्याट्रेसमा रात कटाउनुपर्ने अबस्था छ।
. मनकारी स्थानीय वासिन्दाहरूले घरमा नै आश्रय दिएर राख्नुभएको छ।
.नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू, सुत्केरी, गर्भवती महिला, जेष्ठ नागरिक बालबालिकाहरू उनीहरूको संवेदनशील अवस्था अनुसार गर्नुपर्ने विशेष सहयोग गर्न सकिरहेका छैनौँ।
.नदी किनारामा पचासौँको सङ्ख्यामा रहेका शवहरू सढेर गाउँ नै दुर्गन्धित हुन थालेको छ। जसको कारण सङ्क्रमण भई स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने सम्भावना छ।
.बिरामीहरूको सङ्ख्या बढ्दो क्रममा छ । उहाँहरूलाई तत्काल उद्धार गरी उपचारको व्यवस्था गर्नुपर्नेछ।
.पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा धेरैजना हुनुहुन्छ भन्ने खबर छ। त्यहाँ खाद्यान्न लगायत अन्य सामानको अभाव छ। उहाँहरूलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा आवासको व्यवस्था गर्नुपर्नेछ।
.त्रिशुली नदी वारी र पारी फस्नुभएका परिवारबाट विच्छेद हुनुभएका सदस्यहरूलाई उद्धार गरी परिवारसँगै राख्ने व्यवस्था गर्नुपर्नेछ।
.केही सहयोगी संघसंस्थाहरूले सहयोग गर्ने कुरा गरिरहनुभएको छ । त्यसको लागि आवश्यक सहजीकरण गरिदिनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्दछु।
.घरबारविहीनहरू, हराइरहनु भएकाहरू, अभिभावक बिहिन बालबालिकाहरू, ध्वस्त भएका सार्वजनिक र व्यक्तिको घर लगायतको तथ्याङ्क सङ्कलन भइरहेको छ।
प्रमुख जिल्ला अधिकारीसँग हिजो साँझ सम्पर्क भएको छ । उहाँले तत्काल गर्नुपर्ने काम आजबाट सुरु हुने जानकारी गराउनु भएको छ । स्थानीय सरकारका जनप्रतिनिधिहरूसित समन्वय गरेर आजबाट राज्यको नजरमा ओझेल परेका यी क्षेत्रमा माथि उल्लेख गरिएका कामहरू सुरु हुनेछ भन्ने विश्वास लिएको छु। आफन्त परिवार र घरवारविहीन जनताले त्यसको अनुभूति गर्न पाउनेछन ।
धन्यवाद।

प्रतिक्रिया दिनुहोस्: