Bagmati Samachar Logo

बाढी–पहिरो प्रभावित नेपाललाई सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौँ। अमेरिकाले विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई सहयोग पठाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै प्रकारका सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

नेपालमा आएको भीषण बाढी र पहिरोका कारण हालसम्म करिब ४०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने झन्डै एक हजार मानिस अझै बेपत्ता छन्। विपद्का कारण ठूला र मजबुत भवनहरू समेत ध्वस्त भएका छन्।

राष्ट्रपति ट्रम्पले नेपाल सरकारसँग सम्पर्क गरी सहयोगको प्रस्ताव गरिएको बताए। उनले विनाशको प्रकृतिको चर्चा गर्दै भने, ‘हामीले नेपालमा फोन गरेर उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ। निकै शक्तिशाली र मजबुत भवनहरू पनि सलाईका काँटी झैँ पखालिएका छन्। यो एकदमै भयानक कुरा हो।

यसैबीच, अमेरिकी अधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा रहेका दर्जनौं अमेरिकी नागरिकहरूको अवस्था र सुरक्षाबारे पनि जानकारी लिने प्रयास गरिरहेका छन्।