मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् ।
आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले त्यसका लागि जेनजीलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेनजीलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा सरकार लागेको आरोप लगाए ।
वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको उनको टिप्पणी छ ।
उनले भने, ‘जेनजीहरूको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई थाहा छ । कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ । जे होस् एउटा तमासा भयो । हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौं । नाटकमा अलिकति कला हुनुपर्छ । कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौं ।’
मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद पुर्नस्थापना एक मात्र विकल्प भएको बताएका हुन् ।
उनले भने, ‘असंवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनस्र्थापना गरेर मात्र देशलाई सही बाटोमा हिडाउन सकिन्छ । यदी यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ ।’
उनले संसद र संविधानले नचिन्ने यो सरकार कसको हो भनेर समेत प्रश्न गरेका छन् । ‘यो सरकार कसको प्रतिनिधी हो रु जेन जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ ।’ उनले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’

प्रतिक्रिया दिनुहोस्: