घनश्याम भुसालको पार्टीको नाम– नेकपा वाके, चुनाव चिह्न– सूर्यमुखी फूल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)का संयोजक घनश्याम भुसालले आफ्नो दलको नाम परिवर्तन गर्ने भएका छन् ।
भुसालले आगामी निर्वाचनसम्मका लागि आफ्नो संरक्षणमा ‘नेकपा वामपन्थी केन्द्र’ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भएका छन् । भुसालले ‘नेकपा वाके’लाई आयोगमा दर्ता गराएर चुनावमा भाग लिने भएका हुन् ।
‘सूर्यमुखी फूल’ चुनाव चिह्न मागेको र आयोग आजै प्रमाणपत्र दिने तयारीमा रहेको केन्द्रीय सदस्य योगेन्द्र बस्नेत ९अमृत सागर०ले बताए । उनले भने, ‘आज दल दर्ताको प्रमाणपत्र दिन्छ होला । हामी आयोगमा नै छौँ । नेकपा एसका नेताहरूले यही पार्टीबाट चुनावमा भाग लिने तयारी भएको छ ।’
उनका अनुसार निर्वाचनपछि घनश्याम संयोजक रहेको पार्टी र नेकपा वाकेबीच एकता हुनेछ । उनले भने, ‘दाइ अहिले पार्टीमा हुनु हुन्न, तर दाइको सल्लाहमा नै पार्टी दर्ता गरेका हौँ । पछि पार्टी एकता गरेर जान्छौँ ।’
तत्कालीन नेकपा एसको केन्द्रीय कमिटीले माओवादी केन्द्रसँग एकता गरेपछि भुसाल पक्षहरूले नेकपा एसलाई नै पुर्नगठन गरेका छन्, जसको संयोजकमा भुसाल रहेका छन् ।
पार्टी एकता गरेको एक वर्षसम्म उक्त पार्टीको नाम र चुनाव चिह्न कसैले प्रयोग गर्न नपाउने कानुनी व्यवस्थाका कारण नेकपा एस र त्यसको चुनाव चिह्न ‘कलम’ भुसाल समूहले प्रयोग गर्न नपाउने भएको छ ।
यस्तो छ नेकपा वाके टिम
१. संयोजक– राजकुमार कक्षपति
२. सह–संयोजक– नन्द बन्जाडे
३. योगेन्द्र बस्नेत (अमृत सागर)
४. सुस्मा राई
५. जानुका श्रेष्ठ
६. समीर गौतम
७. नरेश न्यौपाने
८. प्रकाश श्रेष्ठ
९. प्रेमबहादुर तारामी

प्रतिक्रिया दिनुहोस्: