Bagmati Samachar Logo

माओवादीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिह्न, झण्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । शहीद सन्तति सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरूले शुक्रबार आयोग पुगेर उक्त मागसहित निवेदन दर्ता गराएका हुन् ।

अभियानका नेता रजमान तामाङका अनुसार माओवादीको महाधिवेशन आयोजक समिति बनेको र निर्वाचनको मिति घोषणा भइसकेकाले उक्त पार्टीको चुनाव चिह्न र झण्डा यथावत राख्न निवेदन दिएको बताए । उनले भने, ‘माओवादीको महाधिवेशन आयोजक समितिले अन्य पार्टीसँग एकता गर्न सक्दैन । तर नेपाली कम्युनिस्ट पार्टी बनिसकेकाले माओवादी पार्टीको पहिचान फ्रिज नगर्न आयोगलाई आग्रहसहित निवेदन दिएका छौँ ।’

निवेदनमा पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र भएको र विधानअनुसार यो केवल कामचलाउ प्रकृतिको रहेको दाबी गरिएको छ । निवेदनमा भनिएको छ, ‘उक्त काम चलाउ आयोजक समितिले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न सक्दैन । अर्को कुनै पार्टीमा विलय वा मर्ज गर्न तथा चुनाव चिह्न र पार्टीको दार्शनिक मान्यता माओवाद परित्याग गर्न सक्दैन ।’