घनश्यामपक्षको दाबी देशभर आफ्नो पक्षमा बहुमत नेता कार्यकर्ता
काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) का तत्कालीन महासचिव घनश्याम भुसालपक्षले निरन्तर बैठक र भेला आयोजना गरिरहेको छ । एसका बुहमत केन्द्रीय सदस्यहरु अध्यक्ष माधवकुमार नेपालसहितले माओवादीलगायतका दलहरूसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट रहेको यो समूह पार्टी पुनर्गठनको पक्षमा छ ।
बिहीबार पनि आफ्नो पक्षको बैठक निरन्तर जारी राखेको भुसाल समूहले मुख्यतः चार विषयमा छलफल गरेको नेता दामोदर अर्यालले जानकारी दिए । उनका अनुसार आजको बैठकको पहिलो विषय राष्ट्रिय भेला आयोजना गर्नेबारे थियो ।
माधव नेपालले पार्टी एकताको निर्णय गरेपछि असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई आफ्नो पक्षमा उभिन आह्वान गर्दै आएको भुसालपक्षले बुधबारको पत्रकार सम्मेलनमार्फत पनि देशभरका कार्यकर्तालाई नआत्तिन र पार्टी पुनर्गठनको पक्षमा लाग्न आग्रह गरेको थियो । सोहीअनुसार मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय भेला गर्ने र शुक्रबार मिति टुंग्याउने विषयमा छलफल भएको बताइयो । भेलामा देशका सबै जिल्लाबाट कार्यकर्ता सहभागी गराउने तयारी गरिएको छ ।
त्यस्तै, नेता अर्यालका अनुसार ७७ वटै जिल्लामा करिब ८० प्रतिशत नेता–कार्यकर्ता आफ्नो पक्षमा रहेको बैठकले निष्कर्ष निकालेको छ । साथै, मेची–महाकालीसम्म सक्रिय नेताहरूमध्ये आफ्नो पक्षमा रहेका नेताहरूलाई केन्द्रीय समितिमा राख्ने विषयमा पनि छलफल भएको उनले बताए ।
अर्यालका अनुसार, आफ्नो समूहमा सयभन्दा बढी केन्द्रीय सदस्य नहुने गरी तयारी भइरहेको छ । उनले भने, ‘हाम्रो दल सानो र चुस्त–दुरुस्त हुनेछ, भद्दा टिम हुने छैन । जनपक्षीय रूपमा काम गर्ने इमानदार व्यक्तिहरू रहने दल बन्नेछ ।’
भुसाल पक्षमा रहेका सम्मानित नेता झलनाथ खनालपनि अन्तः पार्टी एकताको पक्षमा गएका छन् । अहिले भुसालसँग केहि नेताहरुमात्र बाँकि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: