रेशमले नाउपाने दर्ता गर्नुअघि रञ्जिताको सन्देश–‘मुटु, यो फोटो ठीक छ’ भन्ने आवाज कानमा गुञ्जिरहेछ
काठमाडौं । रेशम चौधरीले श्रीमतीसँगको राजनीतिक सम्बन्ध ठीकठाक चल्न नसकेपछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । यसअघि उनले श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर जेलमै रहेका बेला नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।

तर, आफूले भनेबमोजिम राजनीतिक रूपमा चल्न श्रीमती श्रेष्ठले नमानेपछि रेशमले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । यसका साथै रेशमले गरेका निर्णयहरूलाई निर्वाचन आयोगले पनि मान्यता दिएको थिएन । उनी एकपटक आफैँ पार्टी अध्यक्ष बनेका थिए भने अर्कोपटक रञ्जितालाई हटाएर बुबालाई अध्यक्ष बनाएका थिए । तर, आयोगले यी दुवै निर्णयलाई मान्यता दिएन ।
त्यसपछि अहिले भने रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । रेशमले नयाँ पार्टीको चुनाव चिह्न जाँतो प्रस्ताव गरेका छन् । उनले अध्यक्षमा कवीर सोप नाम गरेका नयाँ पात्र खडा गरेका छन् ।

२०७२ सालमा कैलालीको टीकापुरमा भएको हत्याकाण्डका मुख्य योजनाकार ठहर गर्दै सर्वोच्चले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो । उनी राष्ट्रपतिबाट आममाफी पाएर अहिले जेलबाहिर छन् । निर्वाचन आयोगले हत्या मुद्दामा दोषी ठहर व्यक्ति दलको सदस्य हुन नसक्ने बताउँदै आएको छ ।
रञ्जिताले के भनिन्
रेशमले नयाँ दल दर्ता गर्नुअघि श्रीमती रञ्जिताले फेसबुकमा भावुक पोस्ट गरेकी छन् । ‘मुटु, यो फोटो ठीक छु भन्ने आवाज आज पनि कानमा गुञ्जिरहेछ । राजनीतिले दूरी ल्यायो होला, तर सम्बन्धको आत्मीयता कहिल्यै मेटिँदैन,’ रेशमका तस्वीर साझा गर्दै रञ्जिताले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्: