काठमाडौं । जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एक जना सामान्य घाइते भएका छन्।
हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट बताए ।
विस्फोटमा परी स्थानीय ज्योति रोकायाका १४ वर्षीय छोरा बल रोकाया गम्भीर घाईते भएका छन। उनको खुट्टामा गम्भीर चोट लागेको हो । पाईप विस्फोटका कारण बालकको खुट्टामा गम्भीर क्षति पुगेको वडाध्यक्ष रोकायाले जानकारी दिए। उनका अनुसार घटनामा कमल थापा पनि सामान्य घाइते भएका छन्।
वडाध्यक्ष रोकायाका अनुसार उक्त पाइपभित्र गोलीका छर्राजस्तो वस्तु भरिएको आशंका गरिएको छ। विगतमा कमल थापाको घरमा माओवादी बसेको भन्ने जानकारीका आधारमा पुरानो विस्फोटक पदार्थ त्यहाँ रहेको हुन सक्ने उनले बताएका छन्। यद्यपि, पाइपभित्र के पदार्थ थियो र विस्फोटको वास्तविक कारण के हो भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।
विस्फोटमा गम्भीर घाइते भएका बालक बल रोकायालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने तथा आवश्यक अनुसन्धान गर्ने काममा जुटेको बुझिएको छ।
घटनाबारे प्रहरीको आधिकारिक विवरण र घाइतेहरूको थप स्वास्थ्य अवस्थाबारे जानकारी आउन बाँकी छ।











प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…