Bagmati Samachar Logo

देश बच्न पऱ्यो, अध्यक्ष पद छोड्न तयार छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले अध्यक्ष पद आफ्नो लागि सामान्य भइसकेको बताएका हुन् ।

उनले देश बचाउनका लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन्। पार्टी भित्र प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको सन्दर्भमा उनले भने, ‘कतिपय मानिसहरूले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड्। म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म गर्न तयार छु। आजै म तपाईंहरूको अगाडि घोषणा गर्न चाहन्छु। देश बच्न पऱ्यो। हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो।’

उनले केन्द्रीय समितिलाई आयोजक समितिमा र अध्यक्षलाई संयोजकमा रूपान्तरण गर्न तथा अधिवेशनसम्म जाँदा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताए। दाहालले सबैलाई राष्ट्रको निम्ति त्याग गर्न तयार रहन पनि अपिल गरे। उनले पार्टी कार्यकर्ताहरूलाई विचलित नहुन पनि आग्रह गरे।