जेन–जी आन्दोलनमा ओली र आफूले गोली हान्न आदेश नदिएको रमेश लेखकको स्पष्टिकरण
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका छन् ।
२३ गते भदौको जेन जीको प्रर्दशनमा सरकारले गोली चलाउदा १९ जनाको ज्यान गएपछि गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसँगै कार्य सम्पादन समितिका सदस्यहरू समेटेको बैठकमा शुक्रबार सहभागी भएका लेखकले त्यसबेलाको विषयमा पनि धारणा राखेका हुन् ।
लेखकले भने, ‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले बल प्रयोगका लागि आदेश गरेको भन्ने कुरा सत्य होइन ।’ उनले त्यस्तो आदेश नभएको र जेन–जीका मागप्रति सरकार नकारात्मक पनि नभएको स्पष्टीकरण दिए ।
उनले जेन–जी आन्दोलनका मागहरू सकारात्मक भए पनि प्रदर्शनमा घुसपैठ हुँदा अराजकता निम्तिएको टिप्पणी गरे । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका लेखकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्: