ताजा अपडेट
राजनीति

एमालेमा ओली र भण्डारी गुट पुग्यो तलैसम्म : दोेस्रो पुस्ताविरुद्ध तेस्रो र चौथो पुस्ता

एमालेमा ओली र भण्डारी गुट पुग्यो तलैसम्म : दोेस्रो पुस्ताविरुद्ध तेस्रो र चौथो पुस्ता

काठमाडौं । दुईपटक राष्ट्रपतिमा निर्वाचित भएर सात वर्ष राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले १४ असारमा आफूले एमालेको सदस्यता नवीकरण गरेको र अबदेखि सक्रिय राजनीति गर्ने घोषणा गरेसँगै एमालेमा दुई समुहको विभाजन तेस्रो र चौथो पुस्तासम्म पुगेको छ ।

केन्द्रमा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापा अध्यक्ष केपी ‌ओली र महासचिव शंकर पोखरेलविरुद्ध चर्को रुपमा उत्रिरहेका छन् । अनि तल्लो तहमा युवा संघ र अखिलका नेताहरुसमेत कित्ताकाटमा देखिएका छन् । २९ असार विहानै सामाजिक सञ्जालमा स्टाटस लेखेर महाधिवेशनलगत्तै महासचिव शंकर पोखरेलले आफूलाई सेन्टर मानेर चल्नुपर्ने भन्दै पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको आरोप लगाएका थिए ।

उनले लेखेका छन्, ‘नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको लगत्तैदेखि पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर चल्नुपर्छ भनेर पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाउने र अहिले पनि अध्यक्षको वचनका लागि मात्रै प्रशंसाको झुटो गीत गाउनेहरू नै अध्यक्षको रक्षाकवच हुँ भनेर देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोल्नु पार्टी हित र नीतिविरोधी व्यवहार हो । नेतृत्वलाई गुमराहमा राखेर सधैँभरि मुखिया हुन सकिन्छ भन्ने कसैलाई लागेको भए, यस्तो चिन्तनबाट छिटो मुक्त हुन अनुरोध गर्दछु ।’

उनले आफू कठिनभन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएर आएको र फेरि पनि सत्यकै पक्षमा उभिने बताए । सम्पूर्ण एमाले पंक्तिलाई सही कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै गाली गलौजमा नउत्रन उनको सुझाव छ ।

सामाजिक सञ्जालमा वार

भण्डारीको राजनीतिमा सक्रियतासँगै एमालेमा केन्द्रदेखि तल्ला कमिटीसम्म पक्ष र विपक्षमा नेता कार्यकर्ता विभाजित भएका छन् । विभाजित भएर एकले अर्कोलाई आरोप प्रत्यारोपमा उत्रन थालेका छन् ।

प्रदेशमा भएका जनसंगठन र पार्टीमा भोट पुर्‍याउन नसकेका नेता कार्यकर्ताहरू अहिले बलपूर्वक विद्या भण्डारीलाई ल्याउनुपर्छ भनेर लागेको कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा बताउँछन् । उनले भने, ‘प्रदेशमा भएका जनसंगठन र पार्टीमा भोट पुर्‍याउन नसकेका नेता कार्यकर्ताहरू अहिले बलपूर्वक विद्या भण्डारीलाई ल्याउनुपर्छ भनेर लागेको कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा बताउँछन् । उनले भने, ‘केन्द्रमा भइरहेको आरोप प्रत्यारोप प्रदेश र जिल्लामा पनि बिस्तारै पुग्न थालेको छ । भण्डारीलाई जसरी पनि ल्याउनुपर्छ भन्नेहरूले सामाजिक सञ्जालमा लेखिराख्नुभएको छ । सामाजिक सञ्जालमा लेख्ने साथीहरू अधिकांश पार्टीको आन्तरिक निर्वाचनमा पराजितहरू छन् । अहिले पराजितहरूले जसरी पनि भण्डारीजीलाई ल्याउनुपर्छ भन्दै हारको तुष पोखिराख्नुभएको छ ।’

इतर पक्षका नेताहरूले ‘मदनको नीति, विद्याको नेतृत्व’ भन्दै बहस चलाइरहेका छन् । तर, संस्थापनपक्षले नेतृत्वका बारेमा कुनै बहस छलफल नगर्न चेतावनी नै दिएको छ ।

केन्द्रका नेताहरूले नै सामाजिक सञ्जालमा लेखेर बोलेर पार्टीभित्र समस्या ल्याउने बेमौसमी बाजा बजाउन थालेको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण जैशी बताउँछन् । उनले भने, ‘एमालेमा अहिले भइरहेको बेमौसमी बाजा बजाइ हो । त्यसको असर अलिअलि तल्ला कमिटीहरूमा देखाउन खोज्नुभएको छ । तर, हामीले अहिले विधान महाधिवेशन हुने भएकाले विधानको कुरा गरौँ भनेका छौँ । महाधिवेशनमा नेतृत्वका कुरा गरौँला भनेका छौँ । तर, यहाँ पनि अलिअलि पक्ष विपक्षमा ल्याउन खोजिएको छ ।’

पार्टीको संस्थागत निर्णय नमान्ने जनसंगठनका पदाधिकारी नोटिसमा रहेको बताएपछि उनीविरुद्ध तल्ला कमिटीका नेता कार्यकर्ताहरू सामाजिक सञ्जालमा खनिएका छन् ।

भरखरै अनेरास्ववियुको अध्यक्षमा सात मतले पराजित भएका प्रकाश पौडेल पार्टी नोटिसमा होइन, चरम आक्रमणमा रहेको भन्दै ढकालको प्रतिवाद गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरैका पाइला कता चल्ने भन्ने दोधारमा थिए । त्यसैबेला मैदानमा उभिएर हामीले बल पैदा गरेका थियौँ । चियाको कपमा तुफान चलाउन बन्द गर्नुस्, हामी यही भन्दै मैदानमा झरेका हौँ । गुमाउनलाई केही छैन, जित्नलाई संसार बाँकी छ । जनताको प्रिय एमाले बनाउने अभियानमा हामी निरन्तर छौँ । कसैले, कुनै शक्तिले पनि हामीलाई रोक्न सक्दैन ।’

त्यस्तै, संस्थापनले उठाएका युवा संघका अध्यक्षका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका सुमन पुरीले ढकालविरुद्ध सामाजिक सञ्जालबाट नै आक्रोश पोखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पेटी ठेकेदारज्यू, पार्टी तपाईंको बिर्ता होइन, तपाईंले भन्दैमा संस्थागत हुँदैन । अति नगर्नुस्, अब हामीले नोटिस गर्न थालेका छौँ । त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहँदैन । हेक्का राख्नुस् ।’

ढकालले संस्थागत निर्णयविरुद्ध लाग्नेहरू नोटिसमा रहेको अभिव्यक्ति दिएपछि सचिव योगेश भट्टराईले पार्टीमा एकअर्कालाई लल्कार्ने काम बन्द गर्न आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘च्यासललाई लल्कार्ने, च्यासलबाट लल्कार्ने, कृपया यो तरिका बन्द गरौँ । बसौँ, आपसमा विमर्श गरौँ ।’

भट्टराईको स्टाटस शेयर गरेर भरखरै निलम्बन फुकुवा भएकी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाले पार्टी नेतृत्व र विधि विधान नमानेको भन्दै विभिन्न विषयमा प्रश्न उठाएकी छन् । उनले लेखेकी छन्, ‘विगत ११ वर्ष तपाईंले उल्लेख गरेको कुरा भएको छ दाइ कमरेड । मान्छेहरू बल्ल पेलिनुको पनि हद हुन्छ भन्दै छन् । तर, राजनीतिमा त विधि र विचारमा टेकेरै हिँड्नुपर्छ । फेरि पनि साँगोपाँगो हिसाब किताब केन्द्रीय कमिटीले गरोस् ।’

उनले अगाडि लेखेकी छन्, ‘दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाउने र एकनाथ ढकाललाई सांसद बनाउने तहसम्म राजेन्द्र लिङदेन, कमल थापा, धवलशमशेर, दीपक बोहरासम्मसँग गरेको चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने र पार्टी सदस्यतासमेत खोस्ने हर्कत कमिटीका नाममारसंस्थाका नाममा भएका यी सबै ध्वस्तताको विषयमा छलफल र समीक्षा गरौँ ।’

उता सांसद तथा पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले पनि सामाजिक सञ्जालमा ढकाललाई व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘बजारमा नोटिस हिट भएछ, तर मान्छेहरू नो निड टु टिच भन्न थालेछन् ।’

एमालेनिकट प्रेस चौतारीमा अध्यक्षको उम्मेदवारी दर्ता गर्न नपाएर विराटनगरको महाधिवेशन हलबाट बाहिरिएका राजेश राईले पनि सामाजिक सञ्जालबाटै संस्थापनका अभिव्यक्तिमा न जीवन, न आशा, न त उज्यालो भएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘जसलाई जनताको मन जित्नु पनि छैन, कार्यकर्ताबाट अनुमोदित हुनु पनि छैन, जसको सार्वजनिक अपिलले एक मत जनमत बदलिँदैन, तिनको अभिव्यक्तिमा न जीवन छ, न आशा, न त उज्यालो नै । तिनले न कसैको आँसुको कथा बुझ्छन्, न मुस्कानको भाका नै । बगरे जसरी नाङ्गो तरबार लिएर उभिएका छन्, रेटिरहेका छन्, तिनीहरू एकपछि अर्को सपनाहरूको घाँटी रेट्न उभिएका छन्, आलै रगतको आहालमा । तर भनिरहेका छन्– म बुद्ध हुँ, बुद्ध बाँडिरहेका छन्, शान्तिको उपदेश जारी गरिरहेका छन् फरमान– हाम्रो ‘शान्ति’को साम्राज्यमा प्रश्न गर्नेको भविष्य पनि रेट्दिन्छौँ ।’

एमालेका केन्द्रीय स्तरका नेताहरू मात्र पक्षविपक्षमा खुलेका थिए । तर, पछिल्लो समय विभिन्न भ्रातृ संगठनका नेता कार्यकर्ताहरूले एमालेको संस्थापनपक्षको खुलेर आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…